काठमाडौं, माघ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अपराधिहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको बताउनुभएको छ । आज नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरीले कुनै प्रभावमा परेर दोषीलाई निर्दोष र निर्दोषलाई दोषी बनाउन नहुने बताउनुभयो । उहाँले देशलाई शिरमा राखेर संविधान र कानून अनुसार काम गर्न र प्रहरीले प्रभावमा पर्ने कुरा छाड्न निर्देशन दिनुभयो ।
उहाँले कुनै पनि अनुसन्धान गर्दा तथ्य र प्रमाणमा आधारित भएर न्यासंगन ढंगले काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘पहिले त अपराध गर्नेले सोझे हेर्न सक्दैनथ्यो। अहिले त लाज शरमको कुरै छैन । सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ । ओए किन हेरेको भनेर, झोलाभरि सुन हुन्छ तर किन हेर्या भनेर उल्टै हप्काउँछ । हामी जस्ता भलाद्मी सोझा सिधा इमान्दारलाई किन हेरेको छ हँ भनेपछि ? को हो म चिन्या छ हँ भनेपछि झन् के हो के हो, यस्तो खाल्को जमाना छ ।’
उहाँले तस्कर ठग र भ्रष्टहरुले प्रहरीलाई हप्काउने भएकाले सर्तक हुनुपर्ने बताउनुभयो । उहाँले प्रहरीलाई काम गर्न सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने पनि सुनाउनुभयो । पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीले अहिले लाज सरम नमानी हाँकाहाँकी हिड्ने गरेको बताउनुभएको हो । उहाँले जमाना नै फेरिएको बताउँदै भलाद्मीर सोझासाझा बनेर तस्करी गर्ने गरेको संकेत गर्नुभयो । प्रधानमन्त्री ओलीले त्यसा प्रवृत्तिविरूद्ध निष्पक्षता र स्वतन्त्रताका साथ कठोर बनेर प्रस्तुत हुन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्