काठमाडौँ, माघ २७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले दिल्ली विधानसभा चुनावमा दुईतिहाइ सिट जितेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको छ ।
यो जितसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । दिल्लीको सत्तारूढ आम आदमी (आप) २२ सिटमा खुम्चिएको छ । भ्रष्टाचारको सफाइ गर्ने भन्दै चुनाव चिह्न झाडु लिएको आपले सन् २०१३ मा २८ सिट, २०१५ मा ६७ सिट र २०२० मा ६२ सिट जितेको थियो । २०१५ मा जम्मा ३ सिट र २०२० मा ८ सिट मात्र जितेको भाजपाले यसपटक दुईतिहाइ सुरक्षित गरेको छ ।
तीन पटक दिल्लीका मुख्यमन्त्री बनेका अरविन्द केजरीवाल भाजपाका प्रवेश बर्मासँग ४ हजार ८९ मतान्तरले पराजित भएका छन् । पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित भएका छन् । जंगपुरा निर्वाचन क्षेत्रमा उनी भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् ।
वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन् । उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेकी हुन् ।
भाजपाको यो जितलाई लिएर प्रधानमन्त्री मोदीले ‘विकास र सुशासनको विजय’ भएको बताएका छन् । ‘म दिल्लीका प्यारा दिदीबहिनी र दाजुभाइलाई यस सानदार र ऐतिहासिक जनादेशका लागि नमन गर्दछु,’ एक्समा मोदीले लेखेका छन् । दिल्लीको विकासमा भाजपाले कसर बाँकी नराख्ने उनको भनाइ छ ।
केन्द्रमा प्रमुख प्रतिपक्षी दल रहेको भारतीय नेसनल कंग्रेसले भने कुनै पनि सिट जित्न सकेन । यसप्रति कटाक्ष गर्दै मोदीले देशको सबैभन्दा पुरानो राजनीतिक दलको राजधानीमा नै बिजोग भएको बताएका छन् ।
‘भारतको राजधानीमा देशको सबैभन्दा पुरानो दलले लगातार ६ पटक आफ्नो खाता खोल्न सकेको छैन,’ भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले भने ।
उनले केजरीवाल मुछिएको मदिरा प्रकरणबारे छानबिन हुने पनि बताएका छन् । ‘राजनीति बदल्छु भन्दै राजनीतिमा प्रवेश गरेका आपका नेताहरू नै भ्रष्टाचारमा डुबे, उनीहरूको घोषणा गलत सावित भएको छ । भ्रष्टाचारविरुद्ध लड्न जन्मेको पार्टी आज त्यसैमा डुबेको छ, यस पार्टीका मुख्यमन्त्री आज भ्रष्टाचार आरोपमा जेल परेका छन्,’ मोदीले भने ।
सन् १९९८ देखि २०१३ सम्म दिल्लीमा लगातार सरकार चलाएको कंग्रेस भ्रष्टाचारको आरोपपछि दिल्लीबाट पाखा लागेको थियो । त्यससँगै दिल्लीका जनताले आपलाई सरकारमा पुर्याएका थिए । तर १० वर्षपछि जनताले आपलाई पाखा लगाएर भाजपालाई रुचाएको चुनावी परिणामले देखाएको छ ।
देशको राजधानी भएका कारण पनि दिल्ली राज्यसभा निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए । सत्तारूढ दललाई पाखा लगाउँदै सन् १९९८ यता राजधानीको सत्ताबाहिर रहेको भाजपाले परिणाम आफ्नो पक्षमा निकालेको हो ।
यसअघि महाराष्ट्र र छत्तिसगढलगायतका राज्यका विधानसभा चुनावमा सोचेअनुसार सफलता हासिल गरेपछि भाजपाले सम्पूर्ण शक्ति दिल्ली चुनावमा लगाएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलगायतका केन्द्रीय नेता बारम्बार दिल्लीका चुनावी सभामा देखिएका थिए ।
पछिल्लो समय दिल्लीको चुनावी प्रतिस्पर्धा तीव्र बनेसँगै आपले भाजपामाथि मतदाता सूचीमा गडबडी गरेको, आचारसंहिता लागू हुँदा विभिन्न सामग्री वितरण गरेको लगायतका आरोप लगाएको थियो ।
आप प्रमुख केजरीवालले चुनावी हार स्वीकार गर्दै भाजपालाई बधाई दिएका छन् । ’जनताको फैसलालाई हामी पूर्णरूपमा विनम्रताका साथ स्वीकार गर्छौं,’ सामाजिक सञ्जालमा केजरीवालले भनेका छन् ।
राजधानी दिल्लीमा सार्वजनिक सुव्यवस्था, प्रहरी र भूमि व्यवस्थापनजस्ता विषयमा केन्द्र सरकारले नियुक्त गरेका लेफ्टिनेन्ट गभर्नरसँग निर्णयको अधिकार छ । शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबारे निर्णय लिने अधिकार भने राज्यसँग छ । केन्द्र र राज्य सरकार फरक–फरक दलका हुँदा अधिकार प्रयोगमा बारम्बार विवाद हुने गरेको छ ।
यसैकारण दिल्लीका चुनावी नारा राजनीतिकभन्दा बढी कल्याणकारी मुद्दामा केन्द्रित देखिने गरेका छन् । यसपटकको चुनावमा पनि भाजपा र आप दुवै दलले निःशुल्क स्वास्थ्य सेवा, सरकारी विद्यालयको शिक्षामा सुधार, महिलाका लागि भत्तालगायत मुद्दालाई जोडतोडका साथ उठाएका थिए ।
मोदी नेतृत्वको भाजपा सरकारले गत साता मात्र ल्याएको बजेटका केही प्रावधान दिल्लीको चुनावलाई लक्षित देखिन्थ्यो । भाजपाले मध्यम आय भएकालाई कर छुट दिने चुनावकेन्द्रित बजेट ल्याएको थियो । दिल्लीमा मध्यम आय भएकाको जनसंख्या उच्च रहेकाले दिल्ली विधानसभा चुनावमा आफूलाई फाइदा पुग्ने भाजपाको आकलन थियो ।
केजरीवाल २०१३ मा पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएर चर्चामा आएका थिए । २०१५ मा केजरीवाल ६४.१४ प्रतिशत मतसहित विजयी भएका थिए । २०२० मा भने उनले ६१.१ प्रतिशत मत पाएका थिए । २०१३ को चुनावमा दिल्लीका जनताले केजरीवालले अघि सारेका कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै दिल्लीको राजनीतिमा आप उदाएको थियो ।
२०२० को दिल्ली विधानसभा चुनावमा आप ६२ सिटमा विजयी भएको थियो । भाजपाले ८ सिट जितेको थियो । २०१५ को चुनावमा भने आपले ७० सिट जितेको थियो । भाजपा ३ सिटमा सीमित भएको थियो । पछिल्लो समय भने केजरीवालसहित उनको दलका वरिष्ठ नेतामाथि भ्रष्टाचारको आरोप छ । भारतमा गत वर्ष भएको लोकसभा चुनावअघि केजरीवाल जेल परेका थिए ।
उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता भएको मामिलामा प्रवर्तन निर्देशनालय (ईडी) ले गत मार्च २१ मा पक्राउ गरेको थियो । पक्राउपछि विपक्षी दलले विरोधीलाई निसाना बनाउन मोदी सरकारले एजेन्सीको दुरुपयोग गरेको भन्दै आलोचना गरेका थिए ।
केजरीवाल गत सेप्टेम्बर १३ मा धरौटीमा रिहा भएका थिए । तर मुख्य न्यायालयले उनलाई मुख्यमन्त्री कार्यालयमा फर्कन र निर्णय गर्न रोक लगाएको थियो । रिहा भएको चार दिनपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्