जनता टाइम्स

२८ माघ २०८१, सोमबार ००:१५

लाज नै लजाउने मेयर बालेनको बिदेश भक्ति, श्रम स्वीकृतिबिनै भारतीय नागरिकलाई काठमाडौं महानगरमा रोजगारी


काठमाडौं, माघ २८ । काठमाडौं महानगरपालिकाका सल्लाहकार सुनील लम्सालको पहुँच र पहलमा भारतीय नागरिक अमित चौहानलाई एक वर्षदेखि जागिर दिएको तथ्य खुलेको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको कार्यकालमा मेयरका सल्लाहकार चौहानलाई रोजगारी दिन सिफारिस भएको हो। त्यसको अनुमोदन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्यकालमा मेयर बालेन्द्र साहले गर्नुभएको पाइएको पत्रकार इश्वरराज ढकालले उजागर गर्नुभएको छ ।

एनआईसी एसियाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विज्ञका रूपमा मासिक करिब ७५ हजार तलब दिने गरी महानगरले भारतीय नागरिकलाई रोजगारी दिएको हो ।

बैँकलाई तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारको कार्यकालमा भारतीय नागरिक चौहानलाई तलब व्यवस्थापन गर्न पत्र पठाएको थियो। पत्र पठाउन सल्लाहकार लम्सालले प्रमुख प्रशासकीय अधिकृत परियारलाई दबाब दिनुभएको पाइएको छ।

कामपाका पूर्वाधार तथा फोहोर व्यवस्थापन सल्लाहकार लम्सालले भारतको इन्दोर सहरको मोडलमा सफा सहर बनाउने बहानामा चौहानलाई रोजगारी दिएको हो । वडाअध्यक्षसहित करिब २० जनाको टोली इन्दोरमा अवलोकन भ्रमणपछि मेयर साहले सोही सहरका नागरिकलाई जागिर दिनुभएको हो।

कुनै पनि विदेशीलाई नेपालमा रोजगारी दिँदा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । स्रोतका अनुसार कामपाले चौहानको श्रम स्वीकृति दिन आग्रह गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र पठाएको थियो । मन्त्रालयले स्वीकृत नदिएपछि बैंकमार्फत तलब दिने व्यवस्था मिलाएको हो।

भारतीय नागरिकलाई नेपालमा जागिर खुवाउँदा कुनै सम्झौता भएको छैन । नियमले विज्ञका रूपमा राख्न पाइने भएकाले अमितलाई जागिर दिएको मेयर साहको सचिवालयको दाबी छ । उहाँलाई कामपा वातावरण विभागभित्र कार्यालय उपलब्ध गराएको छ ।

स्रोतका अनुसार चौहानलाई विदेश आतेजाते, खाना र कोठाभाडासमेत कामपा वातावरण विभागले उपलब्ध गराउने गरेको छ । शुरूमा होटलमा बस्दा कोठाको भाडा कामपाले दिएको थियो, बिहानै आउने भएकाले खाना, खाजालगायतका खर्च कामपाबाटै बेहोर्ने गरिएको छ ।

स्रोतका अनुसार विभागले हाल कुलेश्वरस्थित एक भाडाको घरमा फोहोर व्यवस्थापन कार्यालय राख्ने बहानामा उनलाई कोठा व्यवस्थापन भएको छ ।

एक जना भारतीयले नेपालको सडक सफा, फोहोर वर्गीकरण गर्ने, फोहोर ठेक्का लगाउने र मल बनाउनेलगायत सबै जिम्मेवारी दिँदा कर्मचारी भने अचम्मित भएका छन् ।

पछिल्लो समय मेयर पीएल सिंह, केशव स्थापित र विद्यासुन्दर शाक्य हुँदा पनि हुँदै आएका थिए। तर, मेयर साहले आफ्नै कर्मचारीलाई विश्वास नगरी विदेशीलाई जबरजस्ती रोजगारी दिइरहनु भएको हो ।