जनता टाइम्स

२९ माघ २०८१, मंगलवार १६:२८

अन्ततः श्रीमानसँग अलग भइन एलिना, ९ महिनामै सम्बन्धविच्छेद


काठमाडौं, माघ २९ । चर्चित गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गर्नुभएको छ । गायिका एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उहाँहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न नसकी बिच्छेद भएको हो । एलिनाले फेसबुकमार्फत सम्बन्ध बिच्छेदको जानकारी दिनुभएको छ । एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी नगरेको कारण डिभोर्स प्रक्रिया छिटो भएको हो । हाल अष्ट्रेलियामा बस्दै आउनु भएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडनुभएको थियो ।

एलिनाले लेख्नुभएको छ

प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।