जनता टाइम्स

३० माघ २०८१, बुधबार ११:४४

सामाजिक सञ्जाललाई दुरुपयोग गरेर समाजमा भाँडभैलो मच्चाउने दुष्प्रयासलाई तोडनुपर्छ : महेश बस्नेत


भक्तपुर, माघ ३० । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपालमा केही भएन र भएको छैन भन्ने कुरा तथ्यसङ्गत नभएको बताउनुभएको छ ।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले नेपालले आर्थिक र सामाजिक क्षेत्रमा निक्कै प्रगति गरेको बताउनुभयो । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालको प्रगति लोभलाग्दो छ, तर भ्रम फिँजाउनेहरूले केही भएको छैन भन्ने प्रचार गरिरहेका छन्’, उहाँले भन्नुभयो ।

बस्नेतले स्वास्थ्य क्षेत्रमा अहिले पनि केही विकृति रहेको बताउँदै त्यसमा सुधार गर्दै जानु पर्ने बताउनुभयो । कतिपय सरकारी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीले निजी अस्पतालसँग सेटिङ गरेर सरकारी अस्पताललाई कमजोर बनाउने काम गरिरहेका बताउँदै बस्नेतले यसलाई सुधार गरेर जानु पर्नेमा जोड दिनुभयो ।

नेपालको संविधानले नै नागरिकको स्वास्थ्य, शिक्षा, खाद्य लगायतका अधिकार व्यवस्था गरेको उहाँले बताउनुभयो । त्यसैले यसलाई सम्बोधन गर्नु राज्यको दायित्व भएको बस्नेतले प्रष्ट पार्नुभयो ।

अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर समाजमा भाँडभैलो मच्चाउने प्रयास गरिएको बताउँदै बस्नेतले त्यसैलाई रोक्ने सकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक ल्याएको बताउनुभयो । अहिले केही अराजकहरू त्यसकै विरुद्ध उत्रिएका भन्दै उहाँले आलोचना गर्नुभयो ।

युवालाई देशमा रोजगारीको लागि प्राविधिक शिक्षामा जोड दिनु पर्ने उहाँको धारणा छ । त्यसकै लागि सिटिइभिटी, राष्ट्रिय युवा परिषद्, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका निकायहरू स्थापित भएका उहाँले स्पष्ट पार्नुभयो ।

युवालाई २ करोडसम्म प्रमाणपत्र वा परियोजना राखेर ऋण दिने योजना सरकारले ल्याएको बस्नेतले बताउनुभयो । नेपालका बैङ्कले ठगलाई धरौटी राख्न पैसा दिने तर स्वरोजगारी गर्छु भन्ने युवालाई पैसा नदिने गरेका भन्दै उहाँले आलोचना गर्नुभयो ।

उहाँले युवा पुस्ताले धेरै विवेक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जाल हेरेर कुनै पनि विषयमा धारणा बनाउनु नहुने उहाँको धारणा छ । युवाले गलतलाई गलत र सहीलाई सही भन्नु पर्नेमा बस्नेतले जोड दिनुभयो ।