जनता टाइम्स

१ फाल्गुन २०८१, बिहीबार १६:३५

सर्वाेच्चले उल्ट्यायो बिशेषको निर्णय, कोशी प्रदेश सभाका सचिव पराजुलीसहित कुईंकेल र नाहाटालाई ६ वर्ष जेल सजाय


काठमाडौं, फागुन १ । कोशी प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीलाई ६ वर्ष जेल र एक करोड २२ लाख रुपैँया जरिवानाको फैसला सुनाएको छ ।

सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवा खानी सञ्चालन प्रकरणमा कोसी प्रदेश सभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गर्दै सो फैस्ला सुनाएको हो । न्यायाधीश द्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै सबैलाई कसुरदार ठहर गरेको छ ।

पराजुलीले काठमाडौं जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैँया बराबरको भ्रष्टाचार गरेको ठहर सर्वाेच्च अदालतले गरेको छ ।

अदालतले निर्मल कुइँकेललाई पनि ६ वर्ष कैद तथा ८३ लाख ४१ हजार रुपैयाँ जरिवाना तोकेको छ । पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव सुशील नाहाटालाई पनि ६ वर्ष कैद र ९१ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसला अदालतले सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ माघमा दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । अख्तियारको पुनरावेदनपछि सर्वोच्चले सो फैसला उल्ट्याएको हो ।