काठमाडौं, फागुन १ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको समय मुलुकको विकास र समृद्धिको समय भएको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशनको बन्द सत्रलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले सुशासन र सेवा प्रवाह विकास र समृद्धिका महत्त्वपूर्ण विषय भएका बताउनुभयो ।
‘विकास र रूपान्तरणका कामको तीव्रता राज्यको कर्तव्यका रूपमा रहेन गर्दछ, निजामती कर्मचारी क्षेत्रले त्यो काममा राज्यलाई सफल बनाउने कि असफल बनाउने भन्ने भूमिका हुन्छ’, उहाँले भन्नुभयो ।
अहिले सुशासन, विकास आयोजनाको तीव्रता लगायतका विषयमा प्रश्न उठिरहेको बताउनुभयो । ‘समग्रतामा भन्दा राज्य प्रभावकारी भएन भन्ने प्रश्न उठेको छ’, पोखरेलले भन्नुभयो ।
सरकारले यसलाई सम्बोधन गर्न कानुनी सुधारको काम सुरु गरेको बताउनुभयो । यसका लागि संरचनागत सुधार पनि त्यतिकै आवश्यक रहेको पोखरेलले प्रष्ट पार्नुभयो । यस कुरfलई निजामती कर्मचारीले राम्रोसँग बुझेकाले समस्याको समाधान पनि उनीहरूले दिन सक्ने पोखरेलको धारणा छ ।
राजनीतिक स्थायित्वको अभावमा राजनीतिक अस्थिरताको कारण जनतामा निराशा बढ्दै गएको उहाँले बताउनुभयो । यसले गर्दा काम गर्ने वातावरण नबनेको गुनासो पनि त्यतिकै आएको पोखरेलले सुनाउनुभयो ।
मुलुकको आर्थिक अवस्था कमजोर हुँदा पेसाकर्मीले पाउने सुविधा पनि अति न्यून भएको पोखरेलले बताउनुभयो । यी सबै समस्याको समाधान मुलुकलाई समृद्धितर्फ लैजाँदा मात्र हुन सक्ने पोखरेलको धारणा छ ।
विकासका रोकिएका कामलाई तीव्रता दिने र राजनीति स्थायित्व दिने उद्देश्यका साथ देशका प्रमुख दुई दल अहिले एक ठाउँमा उभिएका पोखरेलले बताउनुभयो । त्यही अनुसारका काम सरकारले अघि बढाएको उहाँले बताउनुभयो । तर जसरी अघि बढ्नु पर्ने हो त्यस अनुसार अघि बढ्न नसकिएको उहाँले प्रष्ट पार्नुभयो । ‘अहिले पनि अस्थिरतामा रमाउन चाहनेहरू देशलाई अस्थिरतामा लैजानका लागि प्रधानमन्त्री केपी ओली माथि आक्रमण गरिरहेका छन्, नेकपा एमाले विरुद्ध अहिले पनि आक्रमणको अभियान चलिरहेको छ’, उहाँले भन्नुभयो ।
पोखरेलले मुलुकलाई सही दिशामा अघि बढाउनु सबैको कर्तव्य भएको उहाँले बताउनुभयो । एमालेले बलियो राष्ट्रिय शक्ति बन्नको लागि वडा केन्द्रित अभियान सुरु गरेको पनि उहाँले जानकारी दिनुभयो ।
राजनीतिक दलहरू एक्ला एक्लै चुनाव लड्दा सबैभन्दा ठुलो दलले सरकार बनाउन सक्ने र दोस्रो ठुलो दल प्रतिपक्षमा बस्ने स्थिति बन्ने उहाँले बताउनुभयो । त्यही तयारीका साथ २०८४ को निर्वाचनमा कांग्रेस र एमालेले कसैसँग पनि नमिली चुनाव लड्ने तयारी गरेका पोखरेलको भनाइ छ । ‘आउने निर्वाचनमा हामी एक्ला एक्लै स्वच्छ प्रतिस्पर्धा गर्छौँ’, उहाँले भन्नुभयो ।
देश बनाउन सक्ने राजनीतिक शक्तिलाई एकल बहुमत सहित सरकारमा पुर्याउनु अबको आवश्यकता रहेको उहाँले बताउनुभयो । यसले राष्ट्रको भविष्यलाई उज्यालो बनाउने उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्