काठमाडौं, फागुन ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक लगायत मधेसको असन्तुष्टि सम्बोधनमा अग्रसरता लिनु भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले हुलाकी मार्ग बनाउन भारत सरकारले ढिलाइ गरेपछि ओलीले सो सडक नेपाल सरकार आफैले बनाउने सङ्कल्पसहित सो सडक बनाइएको स्पष्ट पार्नुभएको छ ।
‘भारत सरकारबाट प्राप्त हुने अनुदानको निरन्तरता रहने गरी नेपाल सरकारले आफैँले सडक बनाउने सङ्कल्प गर्नु भो, भारत सरकारलाई सहमत गराउनु भयो, आज मधेसको लाइफ लाईको रूपमा विकास हुँदै गरेको हुलाकी सडक निर्माणमा नेकपा एमालेका अध्यक्षको महत्त्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन्’, उहाँले लेख्नु भएको छ ।
हिजो एमाले र एमाले अध्यक्षलाई निषेध गर्छौ भनिएको मधेस प्रदेशमा आज नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको पोखरेलले उल्लेख गर्नुभएको छ । ‘हुलाकी सडक यति बेला नेपालको सडक सञ्जालको महत्त्वपूर्ण हिस्सा बनेको छ’, पोखरेलले लेख्नु भएको छ ।
हुलाकी सडक तराईका सदरमुकामहरूलाई आधार बनाएर निर्माण गरिएको सूचना र सञ्चारको परम्परागत मार्ग भएको उहाँले स्पष्ट पार्नुभएको छ । त्यति वेला हुलाक नै सूचना र सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम थियो, त्यही परम्परागत हुलाकी मार्ग पछि गएर कच्ची सडक सञ्जालका रूपमा विकास भएको उहाँले स्मरण गराउनुभएको छ ।
‘हुलाकी सडकलाई मधेसी जनताको लाइफ लाइन मानिन्थ्यो, विकासको क्रममा धेरैतिर पक्की सडकहरू बने, तर तराइ मधेसमा जनताको सघन बसोबास भएर गुज्रने हुलाकी सडक बन्न सकेन, मधेसी जनताको गुनासो रहने नै भयो’, उहाँले लेख्नु भएको छ ।
खर्च धेरै लाग्ने भएर माधव नेपाल प्रधानमन्त्री हुँदा त्यसको निर्माणको जिम्मा भारत सरकारलाई लगाइएको पनि उहाँले स्मरण गराउनुभएको छ । तर पनि लामो समयसम्म उक्त सडक बन्न नसकेको पोखरेलले फेसबुकमा लेख्नु भएको छ ।
पोखरेलले हुलाकी सडकका नाममा भारतीय सहयोगमा राजनीतिक स्वार्थ आधारित उत्तर–दक्षिणका स्थानीय सडक बनेका प्रति स्थानीय जनताको गुनासो हुनु स्वाभाविक नै भएको उल्लेख गर्नुभएको छ ।
ती सबै कुरालाई चिरेर एमालेले समग्र मधेस विकासको आधार स्तम्भको रूपमा रहेको हुलाकी सडक निर्माणको काम अभि बढाएको पोखरेलले स्पष्ट पार्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्