जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १७:५८

बिजय गच्छदारको बटमलाइन : मधेसभन्दा ठूलो देश हो, देशलाई विभाजन गरेर मधेश प्रदेशमा जान सकिन्न


ललितपुर, कात्तिक ९ । नेपाली कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले देश ‘एक मधेश एक प्रदेश’ मा जान नहुने निश्कर्ष सुनाउनु भएको छ । मुलुकको समृद्धि र हितका लागि यो मागमा जानै नसकिने निश्कर्ष गच्छद्धारले सुनाउनु भएको हो ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं कांग्रेसबाट शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्वको अवसरमा गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै गच्छदारले देश भन्दा ठुलो मधेस नभएको प्रष्ट पार्नुभयो । नेता गच्छद्धारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने आफ्नो बटमलाइन सुनाउनु भयो । ‘म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेस हो । मधेसभन्दा ठूलो मेरो देश हो, यही यथार्थ भएकाले देशलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन,’ गच्छद्धारले भन्नुभयो ।

आफू अहिले सत्तामा नरहेको बताउँदै उहाँले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्ने बताउनु भयो । कांग्रेसभित्र त्यसकै निम्ति लागि परेको उहाँको भनाई थियो । ‘यस पार्टीमा रहेर महङ्गी र भ्रष्टाचार लगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु’, गच्छद्धारले भन्नुभयो । उहाँले गत चुनावमा नेपाली कांग्रेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको भनाई पनि राख्नुभयो ।

गच्छदारले नयाँ युवा पुस्तालाई पुराना व्यक्तिको कदर गर्दै उहाँहरुको योगदानलाई बिर्सनु नहुने बताउनु भयो । देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छदारको भनाइ थियो । उहाँले आफूसँगै कांग्रेसमा आएका कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रहसमेत गर्नुभयो । ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गनूभएको थियो ।

कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले देशमा मनाइने चाडपर्वले सबै मानिसको कामना पूरा गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले नेपाली कांग्रेसको जागरण अभियानले मुलुकमा ऊर्जा भरेको दाबी गर्नुभयो ।