जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १८:४४

पाकिस्तानी राष्ट्रपति र बङ्गलादेशी प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको भेटबार्ता, यस्तो भयो सहमति


मनोज कार्की, बाकू । नाम सम्मेलनमा भाग लिन अजरबैजानको बाकूमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाकिस्तानी राष्ट्रपति र बङ्गलादेशका प्रधानमन्त्रीसँग भेटबार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता गर्नुभएको हो ।

यहाँ भइरहेको असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उहाँहरूबीच सो भेटघाट भएको हो । भेटघाटमा उहाँहरुबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । दुई नेताबीच हाल अवरुद्ध भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रक्रिया र यसलाई पुनःआफ्नो मार्गमा ल्याउन नेपाल तथा बङ्गलादेशले संयुक्तरुपमा गर्नसक्ने कार्यका विषयमा पनि छलफल भएको थियो ।

बाकु कङ्ग्रेस केन्द्रमै प्रधानमन्त्री ओली र पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीबीच आजै भेटवार्ता भएको छ । भेटमा उहाँहरुबीच दुईपक्षीय चासोका विषयमा छलफल भएको छ । हिन्दू कुश हिमालयमा मौसम परिवर्तनले पारेको नकारात्मक प्रभाव, सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका विद्यमान तथा उदाउँदा चुनौतीका विषयमा उहाँहरुबीच छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो । बैठकका समयमा नेताहरुले सार्कका सदस्य मुलुकबीच मतभेद कम गरी यसलाई पुनःसक्रिय बनाउनुपर्ने तथा क्षेत्रीय शान्तिलाई प्रवद्र्धन गर्नुपर्ने कुरामा छलफल गर्नुभएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ अजरबैजानका राष्ट्रपति तथा १८ औँ नाम शिखर सम्मेलनका अध्यक्ष इल्हाम अलियभसँग शिखर बैठकका प्रतिनिधिमण्डलका नेताहरुका लागि आयोजित रात्रिभोजमा भेटवार्ता गर्नुभएको मन्त्री ज्ञवालीले बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्र«पति अलियभलाई शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकामा धन्यवाद दिनुभएको तथा अभियानप्रति नेपालको पूर्ण प्रतिवद्धता रहेको बताउनुभएको थियो । उहाँले आउँदा तीन वर्षमा असंलग्न अभियानका सञ्चालनमा अजरबैजानलाई सकेसम्म सहयोग गर्ने बचन दिनुभएको पनि मन्त्री ज्ञवालीले उल्लेख गर्नुभयो ।

पाकिस्तानका राष्ट्रपति तथा बङ्गलादेशका प्रधानमन्त्रीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि उपस्थित हुनुहुन्थ्यो । यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले जिबुटीका विदेशमन्त्री महमुद अली युसफसँग भेटवार्ता गर्नुभएको थियो । दुई मुलुकबीच आपसी अभिरुचिका विषयमा छलफल हुनाका साथै संयुक्त राष्ट्र सङ्घ र अन्तरराष्ट्रिय मञ्चमा आपसी मुद्दामा सहयोग गर्ने सहमति उहाँहरुबीच भएको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव वैरागी तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली आवासीय प्रतिनिधि अमृत राई तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको उक्त बैठकमा उपस्थिति थियो । रासस