जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार ०८:४५

आज लक्ष्मीपूजा– सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गर्ने विधि यस्तो छ


काठमाडौं, कात्तिक १० । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

बहिनी यमुनाले दाजु यमराजको पूजा गरेको शास्त्रीय प्रमाणका आधारमा भाइटीकाको प्रचलन सुरु भएको पाणिनी संस्कृत विद्यालय विराटनगरका पं राजेन्द्र आचार्य बताउँछन्। उनका अनुसार यस दिन यमुना नदीमा नुहाई यमराजको पूजा गर्नाले यमलोक देख्नुनपर्ने पद्मपुराणमा उल्लेख छ। साथै यस दिन दाजुभाइ तथा दिदीबहिनीले आपसमा स्वागतसत्कार गर्नाले यमुनाको प्रार्थनाका आधारमा यमराजले यमुनालाई दिएका वरदानअनुसार दिदीबहिनीले उमेरमै विधवा हुनुनपर्ने र दाजुभाइको पनि आयु, सुखसमृद्धि बढ्ने तथा मृत्युपछि नरक जानु नपर्ने शास्त्रमा बताइएको छ।