जनता टाइम्स

१८ फाल्गुन २०८१, आईतवार १५:१६

नेविसंघ मोरङको बिवाद चुलियो, देउवा पक्षले घोषणा गर्यो समानान्तर समिति


विराटनगर, फागुन १८ । महेन्द्र मोरङ क्याम्पसमा भएको झडपपछि नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघको देउवा पक्षले समानान्तर समिति घोषणा गरेको छ । देउवा पक्षले मोहम्मद तानवीरलाई सभापति घोषणा गरेको हो ।

क्याम्पसमा भएको झडपपछि पार्टी सभापति देउवा पक्षले मोहम्मद तानवीरलाई सभापति बनाएको घोषणा गरेको हो । देउवा पक्षका १२ जना केन्द्रीय सदस्यहरूले नेविसंघ मोरङको अध्यक्षमा मोहम्मद तनवीरलाई चयन गरेको पत्र दिएको हो । नेबिसंघ संघको विधान २०२७ बमोजिम अध्यक्ष चयन गरेको सो पक्षको दाबी छ ।

देउवा पक्षका केन्द्रीय सदस्यहरू अङ्कित भट्टराई, सुविन पराजुली, अभिषेक भट्टराई, विकास भण्डारी, दिपेन रौनियार, रोशन पराजुली, लक्ष्मीनारायण अधिकारी (सरोज), प्रमिला ढकाल (एरिका), सुमन ढकाल, दिवाकर यादव, विवेक लिम्बू र प्रज्वल पौडेलले तनवीरलाई अध्यक्ष चयन गरेको पत्र दिनुभएको हो ।

नेविसंघको आधिकारिक अध्यक्ष भने सरोज पोखरेल हुनुहुन्छ । बिहीबार महेन्द्र मोरङ क्याम्पसमा इकाइ कमिटी गठन गर्ने क्रममा झडप भएको थियो । सो झडपमा पोखरेलसहित तीन जना घाइते हुनुभएको छ । मोरङ नेविसङमा कोइराला पक्षको वर्चस्व रहँदै आएको छ ।