जनता टाइम्स

१९ फाल्गुन २०८१, सोमबार २०:२५

केपी ओली कपको उपाधिमा मच्छिन्द्र एफसीको ह्याट्रिक


काठमाडौं, फागुन १९ । मच्छिन्द्र एफसीले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ ।

सोमबार भएको तेस्रो संस्करणको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजीत गर्दै मच्छिन्द्रले आफ्नो दबदबा कायमै राखेको हो । मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भयो ।

खेलको २९औं मिनेटमा मच्छिन्द्रको क्रस क्लियर गर्ने क्रममा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा युसुफ मलिकको क्रसमा जमहा जालेले उत्कृष्ट फस्र्ट टच फिनिस गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएन र मच्छिन्द्र तेस्रो पटक उपाधि रक्षा गर्न सफल भयो ।

नेपाली घरेलु प्रतियोगितामा एउटै टोलीले लगातार तीनपटक एकै प्रतियोगिताको उपाधि जित्नु कमै देखिने दृश्य हो । मच्छिन्द्रले उत्कृष्ट लय कायमै राख्दै उपाधि रक्षा गर्न सफल भएको छ ।

यसअघिका दुवै संस्करणमा टाइब्रेकरसम्म पुग्नुपरेको मच्छिन्द्रले यसपटक भने निर्धारित समयमै उपाधि जितेको हो । पहिलो संस्करणको फाइनलमा सातदोबाटो युथ क्लब तथा दोस्रो संस्करणको फाइनलमा एनआरटी क्लबलाई टाइब्रेकरमा हराएर मच्छिन्द्रले उपाधि जितेको थियो ।