जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार १५:२०

बिमानस्थलबाटै प्रधानमन्त्री ओलीको घोषणा : म र प्रचण्डबीच दूरी बढने सम्भावना र अवस्था दुवै छैन


काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो दूरी बढ्ने कुनै सम्भावना नरहेको प्रष्ट पार्नुभएको छ । असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाग लिएर आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै प्रचण्डसँग दुरी बढाउने खेल सफल नहुने प्रष्ट पार्नुभएको हो ।

सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग आफ्नो दूरी बढ्ने कुनै अवस्था नरहेको उदघोष गर्नुभयो । ‘रमाईलो कुरा गर्नुभयो, काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ तपाई र अर्का अध्यक्ष प्रचण्डको दुरी बढ्यो नि भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा जवाफ दिनुभयो, ‘यसभन्दा बाहेक दूरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाहिँ मिलेन । हामीबीच कुनै प्रकारको दूरी बढने सम्भावना र अवस्था दुवै छैन ।’

प्रधानमन्त्री ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको समाचार विभिन्न समाचार माध्यममा आइरहेका थिए । प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको प्रष्ट पार्नुभएको हो । उहाँले आफुहरुबीच दुरी बढाउन चाहनेको योजना र षडयन्त्र पनि सफल नहुने बताउनु भयो । अर्का अध्यक्ष प्रचण्डले मदन भण्डारीको उच्च सम्मान गर्दा कसैले टाउको दुखाउन नपर्ने यथार्थ पनि प्रधानमन्त्री ओलीले सुनाउनु भयो ।

‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने इच्छा राख्छु भन्नु भएको हुनुपर्छ, अव मदनको बिचारअनुसार देशलाई अघि बढाउने कुरा गर्दा किन आपत्ति ?’ प्रचण्डले मदन भण्डारीसँग आफूलाई तुलना गर्नुभयो नि ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो ।