बाँके, फागुन २४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेलामा माओवादीकै नेताहरूले ८ क्विन्टल सुन तस्करी गरेको ठोकुवा गर्नुभएको छ ।
एमाले स्थानीय विकास विभागद्वारा बाँकेमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । महासचिव पोखरेलले प्रचण्ड प्रधानमन्त्री रहँदा माओवादी नेताहरूले सुन तस्करी गर्न पशुपतिमा सुनको साटो पित्तल चढाइयो भनेर हल्ला गरेको बताउनु भयो ।
‘पशुपतिमा सुनको जलहरी लगाउने भनेर सरकारले पैसा दियो । त्यहाँ सुनको होइन, पित्तलको जलहरी लगाएका छन भनेर माओवादी नेताले संसदमै बोले, साह्रै ठूलो हल्लाखल्ला भएपछि छानबिन त गर्नुपर्यो, छानबिन गर्दा सुन नै हो भनेर प्रमाणित भयो । पित्तल भन्ने कुरा हल्लामात्रै रहेछ भन्ने प्रमाणित भयो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘त्यो सुनको जलहरी पित्तल हो भनेर हल्ला गरेको त एअरपोर्टबाट टनका टन सुन तस्करी गर्न पो रहेछ ।’
महासचिव पोखरेलले नेपालमा भ्रष्टाचार अन्त्य गर्ने माओवादीको हल्लामा पत्याउने आधार नभएको तथ्य पनि राख्नुभयो । ‘त्यसपछि एकपछि अर्को माओवादीका नेताहरू सुन तस्करीमा आरोपित हुन थाले, कति सुन तस्करी भएछ भन्दाखेरि अवैध तरिकाले ल्याएको र सुन गालेको मेसिनमात्रै हेर्ने हो भने त्यो अवधिमा करिब ८ क्विन्टल सुन तस्करी भएको देखिन्छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
महासचिव पोखरेलले सुन प्रकरणमा पनि माओवादी हिजो सशस्त्र आन्दोलनको बेलामा जस्तै हल्ला एकातिर चलाउने, आक्रमण अर्कोतिर गर्ने विधि अपनाएको बताउनु भयो ।
‘नजर एकातिर, निसाना अर्कोतिर भने जस्तो । माओवादीमा के भन्छन, के गर्छन भन्ने कुरा बुझ्न सक्नुपर्छ । माओवादीको नीतिको कारणले अहिले देशमा संकट भएको छ । त्यही संकटबाट मुलुकलाई बाहिरि निकाल्न कांग्रेस र एमाले मिलेका हौं । व्यवस्थामाथि संकट आएपछि विगतमा पनि मिलेका थियौं । अहिले पनि मिलेर रक्षा गर्छौं,’ महासचिव पोखरेलले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्