जनता टाइम्स

२४ फाल्गुन २०८१, शनिबार २२:५६

‘मबाहेक सबै रूपान्तरण हुनुपर्छ भन्ने मानसिकता राजनीतिक नेतृत्वदेखि नेपाली प्रेससम्मले त्याग्नुपर्छ’


काठमाडौं, फागुन २४ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले नेपाली पत्रकारले आफ्नो कामको समीक्षा गरी आफूले आफैँलाई बदल्नु पर्ने बताउनुभएको छ ।

शनिबार प्रेस चौतारी नेपाल उपत्यका प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले अनुहारमा लागेको दाग हटाउन ऐना सफा गर्ने होइन अनुहार नै सफा गर्नुपर्छ भन्ने कुरामा पत्रकार स्पष्ट हुनुपर्ने बस्नेतले बताउनुभयो ।

अध्यक्ष  बस्नेतले अहिले पनि पार्टी र नेताहरूमा जडसुत्रवाद र अवसरवादको अवशेष झाँगिँदै गएको बताउँदै त्यसलाई परिवर्तन गर्न अभियान चलाउन आवश्यक रहेको बताउनुभयो ।

‘नेपाली पत्रकारिताले आफूलाई परिवर्तनको संवाहक बनाउनु पर्छ, स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणको अभियानमा लाग्नु पर्छ, सञ्चार क्षेत्र आवाज विहीनहरूको आवाज बन्नु पर्छ’, उहाँले भन्नुभयो ।

नेपाली पत्रकारितालाई सही बाटो देखाउनको लागि नेतृत्व पङ्ती अभिभावको भूमिका खेलिदिनु पर्ने उहाँले बताउनुभयो । मबाहेक सबै रूपान्तरण हुनुपर्छ भन्ने होइन, रूपान्तरणको सुरुवात म बाटै हुनुपर्छ भनेर सबैले लाग्नु पर्ने आजको आवश्यकता रहेको बस्नेतले प्रष्ट पार्नुभयो । ‘आफू रूपान्तरण भएपछि सबैलाई रूपान्तरण भइन्छ भन्ने अभियान प्रेस चौतारी नेपालले सुरु गरेको छ’, उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपालमा कोही ठुलो, सानो छैन, सबै समान हुन् । संगठनले तोकेको जिम्मेवारी सबैले पुरा गर्नुपर्छ भनेर प्रेस चौतारी नेपाल अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । ‘प्रेस चौतारी नेपाल तथ्यको आधारमा सत्य स्थापित गराउने अभियानमा छ’, बस्नेतले भन्नुभयो ।

प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै कतिपय पार्टीका नेताहरूले उम्मेदवार बनाउन आफ्ना मान्छेको नाम दिनेबाहेक अरू कुनै सहयोग नगरेका तितो सत्य बस्नेतले सुनाउनुभयो । कतिपय ठाउँमा प्रेस चौतारीका उम्मेदवारलाई हराउनकै लागि पार्टीका नेता लागेको बस्नेतले गुनासो गर्नुभयो ।

नेपाल पत्रकार महासंघलाई पत्रकारको संस्था बनाउनु पर्छ भनेर प्रेस चौतारी नेपाल लागेको उहाँले बताउनुभयो । पैसाको लोभमा देशको स्वाधीनका विरुद्ध लेख्ने पत्रकारलाई नेपाल पत्रकार महासंघको नेतृत्वमा रहन दिनु हुँदैन भन्ने कुरामा प्रेस चौतारी नेपाल स्पष्ट रहेको बस्नेतले सुनाउनुभयो ।

आज देशमा राजनीति अस्थिरता रहेको बताउँदै उहाँले यसले मुलुकको विकास हुन नसकेको बस्नेतले बताउनुभयो । लोकतन्त्रको फल गरिबको झुपडीमा पुर्‍याउनु पर्छ भनेर दुई ठुला दल लागेका बताउँदै उहाँले यस काममा नेपाली प्रेसले सघाउनु पर्ने बस्नेतको धारणा छ ।

नेपाल समृद्ध बन्दा मात्र नेपाली प्रेस समृद्ध बन्छ भन्ने कुरालाई बिर्सन नहुने उहाँले स्पष्ट पार्नुभयो । समृद्धि नेपाल निर्माणको लागि सबैभन्दा जिम्मेवार भूमिका नेपाली प्रेसले निर्वाह गर्नुपर्छ भन्ने कुरामा प्रेस चौतारी नेपाल द्विविधामा छैन’, उहाँले भन्नुभयो ।