रौतहट, फागुन २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक ध्रुवीकरणको अभियान अबको आवश्यकता रहेको बताउनुभएको छ ।
सोमबार प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई रौतहटमा सम्बोधन गर्दै पोखरेलले आन्दोलनमा रहेकालाई जोडेर बलियो राष्ट्रिय शक्ति निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
बलियो राष्ट्रिय शक्तिले नै बलियो र समृद्ध राष्ट्र निर्माण गर्ने पोखरेलले स्पष्ट पार्नुभयो । काठमाडौंमा पूर्वराजालाई स्वागत गर्ने भनेर हिजो एउटा तमासा देखाइएको उहाँले बताउनुभयो ।
पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वराष्ट्राध्यक्षको हैसियतले राज्यले सम्मान नै गरेको पोखरेलको भनाइ छ । पूर्वराजलाई देशका कुनै पनि भागमा घुम्ने स्वतन्त्रता रहेको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले पूर्वराजा कुनै ठाउँबाट कुनै ठाउँमा आउजाउ गर्दा हल्लाखल्ला गर्नुको कुनै अर्थ नरहेको उहाँले बताउनुभयो ।
अहिलेको संविधानमा बदलाव ल्याउन कसैलाई इच्छा छ भने संसदमा दुईतिहाइ बहुमत ल्याएर आफ्नो अनुकूल संविधान परिवर्तन गर्न उहाँले राजावादीलाई चुनौती दिनु भयो ।
‘जनता मेरो पक्षमा छन् भन्नेले त्यो आँट त गर्नै पर्यो, जुन बाटो छ त्यो बाटो नहिँड्ने, भिर–काल्नामा हिँड् खोज्ने, लोकतन्त्रको राजमार्ग छँदै छ, भिर–काल्नाको बाटो किन हिँड्नु पर्यो, भिर–काल्नाको बाटो नहिँडौँ, दुर्घटनामा परिएला, राजावादीहरूले यो कुरा बुझे हुन्छ’, उहाँले भन्नुभयो ।
नेपालमा केही भएको छैन, राजाको पालामा उल्का भएको थियो भन्नेलाई विगतमा भएको आर्थिक, भौतिक र सामाजिक विकाससँग अहिले भएको विकासलाई तुलना गरेर हेर्न पोखरेलले सुझाव दिनुभयो । गणतन्त्रले हरेक नागरिकलाई अवसर दिएको उहाँले बताउनुभयो । त्यसैले गणतन्त्र र राजतन्त्रको तुलना नै गर्न नसकिने पोखरेलले स्पष्ट पार्नुभयो ।
‘राजाको शासनकालसँग तुलना गर्ने हो भने नेपालमा विकासको चमत्कार नै भएको छ, शाह वंशीय राजतन्त्रको कारण आज हाम्रो देश पछाडि पर्यो भन्ने कुरा हामीले जतालाई बुझाउन सक्नु पर्दछ’, पोखरेलले भन्नुभयो ।
अहिले युवा सबै विदेश गए भनेर निराशाको कुरा गर्ने गरिएको बताउँदै पोखरेलले लाहुर जाने नेपाली समाजको विशेषता नै भएको सुनाउनुभयो ।
यो नेपाली समाजको संस्कार भएको उहाँको भनाइ छ । अहिले पनि ७० लाखदेखि एक करोडसम्म खर्च गरेर चोर बाटो हुँदै अमेरिका जाने मानिसहरू भएका बताउँदै उहाँले त्यो पैसाबाट देश भित्रै धेरै काम गर्न सकिने स्पष्ट पार्नुभयो । अमेरिका जान ८०/९० लाख खर्च गर्न सक्नेलाई देशमा नै केही गर्न सकिन्छ भन्ने मनोवृत्ति विकास गराउनु पर्ने पोखरेलको धारणा छ ।
पोखरेलले गणतन्त्रवादीहरू झगडा गर्दा राजावादीहरूले टाउको उठाउने गरेका बताउनुभयो । त्यही अस्थिरतालाई चिर्न नेकपा एमाले र नेपाली कांग्रेस मिलेका उहाँको भनाइ छ ।
जनतामा बढेको सबै खालको निराशा चिर्न नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको पोखरेलको धारणा छ । त्यसकै लागि नेकपा एमालेले जरा केन्द्रित अभियान चलाएको उहाँले बताउनुभयो । जनताको विश्वास आर्जन गर्नको लागि आफ्नो भित्रको एकता कायम गर्न आवश्यक रहेको पोखरेलले स्पष्ट पार्नुभयो । उहाँले कुनै नेताको पछि लागेर होइन, पार्टीको नीति र विचार बोकेर अघि बढ्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्