जनता टाइम्स

११ कार्तिक २०७६, सोमबार ०६:३१

तिहारको चौथो दिन आज गाई, गोरु र कृषक पूजा, धर्मशास्त्रविद् प्रा डा गौतम गाईपूजाबारे यस्तो भन्छन्


काठमाडौं, कात्तिक ११ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ ।

दुई दिन आत्म (म्हः) पूजा गरिँदै

समितिले आजै नेवार समुदायले गर्दै आएको आत्म ९म्हः० पूजा गर्नुपर्ने निर्णय गरेको छ । नेवार समुदायका मानिस भने आत्मपूजा आज र भोलि दुई दिन गर्नेमा विभाजित भएका छन् ।

समितिका सदस्य कीर्तिमदन जोशी शास्त्रसम्मत निर्णयअनुसार सोमबार नै आत्मपूजा गर्ने बताउनुहुन्छ । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मङ्गलबार भाइटीका लगाउने तयारी गरेका छन् । उपत्यका र बाक्लो नेवारी बस्ती भएका स्थानमा भने नेवार समुदाय म्हःपूजा एवं भाइटीका मनाउन विभाजित भएका छन् । सदस्य जोशी भने धर्म राजनीति भएकाले एकथरि मानिस शास्त्रसम्मत पर्व नमनाउने निर्णयमा पुगको बताउनुहुन्छ ।