काठमाडौं, फागुन २७। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा संवैधानिक रूपमा नै राजतन्त्र हटेको बताउनुभएको छ ।
संविधानले नै हटाएको राजतन्त्र पुनर्स्थापनाको कुनै सम्भावना नरहेको पोखरेलले स्पष्ट पार्नुभएको छ । अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकले नेपालमा हिन्दु राजाको आवश्यकता बारे चर्चा गरिरहेका प्रति लक्षित गर्दै पोखरेलले भारतमा पनि कुनै बेला राजा रजौटाहरू रहेका उल्लेख गर्नुभएको छ ।
उनीहरूको चिन्ता उनीहरूले भन्ने गरे जस्तै हो भने भारतमा नै हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनर्स्थापित गरेर देखाउन पोखरेलले चुनौती दिनुभएको छ ।
जसरी भारतको संविधान अनुसार भारतमा राजा महाराजालाई पुनर्स्थापित गराउन मिल्दैन, त्यसै गरी नेपालको संविधान अनुसार पनि राजालाई पुनर्स्थापित गर्न नमिल्ने कुरा बुझ्नु पर्ने पोखरेलको धारणा छ ।
‘अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरू नेपालमा हिन्दुराजको आवश्यकताको चर्चा गरिरहेका छन्, विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन्, नेपालको पूर्वराजालाई त्यो सम्मान दिनु उचित हुने बताई रहेका छन्, उनीहरूको चिन्ता उनीहरूले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनर्स्थापित गर्दा भयो नि, तर त्यो सम्भव छैन, किनकि भारतीय संविधानले त्यसो गर्न दिँदैन, नेपालको हकमा पनि त्यस्तै त हो नि, होइन र ?’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरहँदा ५ सय ५० भन्दा बढी रियासतहरुलाई आफ्नो अधीनमा राखेका स्मरण गराउँदै पोखरेलले तिनीहरूमा अधिकांशमा राजा, नवाब र महाराजाहरू रहेका स्पष्ट पार्नुभएको छ । ‘त्यसमध्ये अधिकांश हिन्दु थिए, जसलाई विष्णुको अवतारका रूपमा मान्ने संस्कृति पनि थियो’, पोखरेलले इतिहास स्मरण गराउनुभएको छ ।
सरदार वल्लवलाई पटेलले भारतीय स्वतन्त्रता पछि ती रियासत अन्त्य गरेको उहाँले राजवादीहरूलाई स्मरण गराउनुभएको छ । कतिपयले अधीनस्थता अस्वीकार गरेपछि बल प्रयोगबाट भारतमा विलय गरिएको इतिहास नबिर्सन उहाँले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्