झापा, चैत्र १ । नेपाली भाषी साहित्यका मुर्धन्य ब्यक्तित्व उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा उहाँको निधन भएको हो ।
क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले बताएका छन । भारतको असममा १९८९ सालमा जन्मिएका उहाँको ‘बसाइँ’ चर्चित उपन्यास हो । ‘ब्रह्मपुत्रको छेउछाउ’ बाट उहाँले सन् १९८६ मा साहित्य अकादमी पुरस्कार पाउनु भएको थियो । उहाँका ‘अतृप्त’, ‘प्रतिध्वनिहरु विस्मृतिको’, ‘असममा नेपाली भाषाको साह्रोगाह्रो’, ‘तीन दशक बीस अभिव्यक्ति’ लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् ।
उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाउनु भएको थियो । उहाँका श्रीमती, दुई छोरा र छोरी छन् ।
क्षेत्रीको ‘बसाई’ उपन्यास मदन पुरस्कार गुठीबाट पहिलोपटक २०१४ सालमा प्रकाशित भएको थियो । उपन्यासको कथामा फिल्म पनि बनिसकेको छ । ‘बसाइँ’ लाई माइकल हट र लारी हार्टसेलले अंग्रेजीमा अनुवाद गरेका छन् भने ‘ब्रम्हपूत्रका छेउछाउ’ उपन्यास असमिया, हिन्दी र बंगालीमा अनुदित भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्