जनता टाइम्स

२ चैत्र २०८१, शनिबार ११:२०

जरा केन्द्रित अभियानमा एमालेले गर्नैपर्ने १० काम


काठमाडौं, चैत २ । नेकपा एमालेका नेता–कार्यकर्ता यतिबेला तीन महिने वडा–केन्द्रित निर्णायक पार्टी निर्माण (जरा) अभियानमा लागिरहेको छ । केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकले अघि बढाएको यो योजना यतिबेला देशभर चलिरहेको छ । अभियानको दुई महिना सकिएको छ ।

चैत महिनाभित्र बाँकी सबै काम सम्पन्न गरिछाड्ने संकल्पका साथ देशभर एमालेका नेता कार्यकर्ता सक्रिय बनिरहेका छन । नेकपा एमालेका संगठन बिभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार जरा अभियानमा मुख्य दश कामलाई प्राथमिकता दिइएको छ ।

पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्ति बनाउने उदघोषका साथ अघि बढाएको यस अभियानले पार्टी सदस्यता ब्यवस्थित गर्नेदेखि टोलटोलमा पुगेर सदस्यता बिस्तार र नयाँ सदस्य बनाउनेसम्मका योजना रहेको अधिकारील बताउनु भयो ।

यी हुन मुख्य १० काम

१. पार्टी सदस्यता सम्बन्धि काम सुव्यबस्थित गर्ने (नवीकरण, बिस्तार, अनलाइन अभिलेखिकरण, प्रशिक्षण र परिचालन) ।

२. कम्तप्मा वडा तहसम्म कमिटीका अधिवेशनहरु सम्पन्न गरिसक्ने । सबै टोलमा पार्टी कमिटीहरु बनाउने र सुचारु गर्ने ।

३. संगठनात्मक अराजकता र अवसरवादलाई पराजित गर्न कमिटी जीवनमा व्यापक शुद्धीकरण गर्ने ।

४. प्रायोजित मिथ्या–प्रचारको (साइवर हमलाको) प्रतिवाद गर्ने । भ्रम पार्नै नदिने गरी टोल तहसम्म प्रशिक्षण चलाउने ।

५. कार्यकर्तामा आत्मविश्वास जगाएर पार्टीलाई घर–घर पुर्याउने र जनतामा आशा जगाउने ।

६. जनताका माग–मुद्दा तथा समस्यामा अग्रसरता लिने र आर्थिक–सामाजिक तथा सांस्कृतिक रुपान्तरणलाई तीब्रता दिने ।

७. युवामा पहुँच बढाउन, युवा नेतृत्व बिकासको योजनाबद्ध थालनी गर्ने ।

८. अबको पार्टी काममा डिजिटल माध्यम अपनाउन वडा तहसम्मका पार्टी कमिटीलाई सचेत पार्ने ।

९. जनतासँग जनसंगठन अभियान चलाउने (वडासम्म जनसंगठनका कमिटी निर्माण, सदस्यता बिस्तार, प्रशिक्षण, सम्बन्धित समुदायका समस्या समाधानमा अग्रसरता) लिने ।

१०. वडा तहसम्म पार्टी कार्यालयहरु सुव्यबस्थित गर्ने ।