जनता टाइम्स

११ कार्तिक २०७६, सोमबार ११:५२

हिरासतमुक्त हुन सर्वाेच्च अदालत पुगे हाइप्रोफाइल जुवाडे


काठमाडौं, कात्तिक ११ । काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका ‘हाइप्रोफाइल’का २५ जुवाडे हिरासत मुक्त हुन सर्वोच्च अदालत पुगेका छन्।आइतबार नै जुवाडेका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको हो।

सर्वोच्चले आईतबार नै पक्राउ परेका २५ जुवाडेलाई आज उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंलाई आदेश गरेको छ। अदालतको आदेशअनुसार प्रहरीले केही बेरमा जुवाडेहरूलाई सर्वोच्च लैजाने भएको छ । महाराजगन्जको साम्बाला होटेलपछाडि सञ्चालित जुवाको खालमा प्रहरीले शनिबार राति छापा मारी क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित हाई प्रोफाइलका २५ जना जुवाडे पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ।

काठमाडौँ महानगरपालिका–३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगन्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन्।