काठमाडौं, चैत ४ । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले एआइजी थापालाई आईजी नियुक्त गर्ने निर्णय गरेको हो । ३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी मंगलवारबाट अवकाशमा जानु हुने भएपछि मन्त्रिपरिषदले सोमवार नै नयाँ आइजी नियुक्त गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले मंगलवार अर्थात चैत ५ बाटै कार्यभार सम्हाल्नु हुनेछ । मंगलवार कार्यालय समयको शुरुमै गृह सचिव गोकर्णमणि दुवाडीबाट दज्र्यानी चिह्न (फुली) लगाएपछि उहाँले महानिरीक्षकको कार्यभार सम्हाल्ने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरु गर्नुभएका थापा भक्तपुर जिल्ला निवासी हुनुहुन्छ । बिसं २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिनुभएका थापाले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्