काठमाडौं, चैत ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलले नेपाललाई दिइने आर्थिक सहायताले निरन्तरता पाउने जानकारी दिनुभएको छ ।
राष्ट्रपति ट्रम्पले वैदेशिक सहायतासम्बन्धी कार्यकारी आदेश जारी गरेपछि नेपालमा आउने आर्थिक सहयोग निलम्बनमा परेको छ । राष्ट्रपति ट्रम्पको यो घोषणा आएपनि अमेरिकाले नेपालमा दिइने अनुदानलाई निरन्तरता दिने बताएको हो ।
ट्रम्पका वरिष्ठ अधिकारी गिलले नेपालमा आउने आर्थिक सहायताले निरन्तरता पाउने बताउनु भयो । मंगलबार भारतको नयाँ दिल्लीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगको भेटवार्ताका क्रममा दक्षिण र मध्य एसिया हेर्ने राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक गिलले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाउनु भयो ।
राइसिना डायलग कार्यक्रमका लागि नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री राणाले ’साइडलाइन’ वार्ता गर्दै गिलसँग हमासको नियन्त्रणामा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उहाँले विपिनको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो । उहाँहरूबीच नेपाल र अमेरिकाको द्विपक्षीय हितका विषयमा पनि छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्