जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १०:४७

जुवातासप्रति कठोर बन्यो प्रहरी, पाँच जिल्लाको जुवा खालबाट लाखौं रुपैयासहित समातिए एक सय तीन जुवाडे


काठमाडौं, कात्तिक १२ । देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । आज बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट तीन लाख नगद बरामद भएको छ ।

यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट १७ जनासहित दुई लाख ८२ हजार र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन् । उनीहरूबाट दुई लाख ३६ हजार, तासका कैयौँ प्याकेट र कौडा बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट पाँच लाख ७५ हजार खिचिएको छ । दाङको लमही नगरपालिका–५ पक्राउ गरिएका आठ जनाबाट १६ गड्डी तास र ३२ थान कौडासहित नगद छ लाख ७८ हजार बरामद भएको छ ।