जनता टाइम्स

१० चैत्र २०८१, आईतवार १८:०२

मुलुकको ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सरकारले सकारात्मक परिमाण दिएको छ : मुख्यमन्त्री कार्की


विराटनगर, चैत १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफू मुख्यमन्त्री भएपछि धेरै कुरालाई सही बाटोमा ल्याउने प्रयास गरिरहेको बताउनुभएको छ ।

आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका कार्कीले प्रदेश सरकारले गरेको काम हेरेर ठिक भए ठिक र बेठिक भए बेठिक भनिदिन पत्रकारलाई आग्रह गर्नुभयो ।

अहिले सामाजिक सञ्जाल मार्फत समाजमा अफवाह फैलाउने काम भएको बताउँदै उहाँले त्यसको प्रतिवाद आवश्यक रहेको बताउनुभयो । ‘लोकतान्त्रिक शासन प्रणालीलाई पनि चुनौती दिने खालका अभिव्यक्तहरू आउने गरेका छन्’, उहाँले भन्नुभयो ।

अहिले अभियन्ता बनेकाहरूको विगत र उनीहरू अहिले कसरी आएका छन् भन्ने कुरा सञ्चारमाध्यमले राखिदिए नागरिकहरू छर्लङ्ग हुने उहाँले बताउनुभयो ।

पत्रकारहरूलाई उनीहरूको विगत हेरिदिन उहाँले आग्रह गर्नुभयो । कार्कीले जे हो त्यही सत्य सार्वजनिक गरिदिने हो भने लोकतन्त्रको रक्षामा ठुलो योगदान पुग्ने बताउनुभयो ।

शेरबहादुर देउवा र केपी ओलीको बिचमा मुलुकको ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने, संविधान संशोधनका लागि काम गर्ने सहमति भएको बताउँदै कार्कीले पहिलो बुँदामा राम्रो प्रगति हुँदै गएको बताउनुभयो ।

अहिलेको सरकारले उल्लेख्य राजश्व सङ्कलन गरेको उनको उहाँले उदाहरण दिनुभयो । ‘मुलुकको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउन अहिलेको सरकार सफल भएको छ’, उहाँले भन्नुभयो ।

प्रजातन्त्र भनेको छाड हिँड्ने कुरा नभएको बताउँदै कार्कीले सामाजिक सञ्जाललाई नियमन गर्नै पर्ने बताउनुभयो । कुनै पनि व्यक्तिलाई छाडा बन्नबाट रोक्न सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन आवश्यक रहेको उनको धारणा छ ।

सरकारले अध्यादेश ल्याउने कुरा पनि संविधानसम्मत कुरा भएको बताउँदै कार्कीले सरकार पूर्ण रूपमा लोकतान्त्रिक बाटोबाट सही दिशामा अघि बढेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले पहाडका बसाइसराइ रोक्न कोशी प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । प्रदेश सेतो हात्ती भयो, पाल्न गाह्रो भयो भन्नेलाई प्रदेश सरकारले गरेको काम हेर्न पनि उहाँले आग्रह गर्नुभयो ।