जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार ०२:२५

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको जनप्रदर्शन प्रतिगमनको कुप्रयासका विरुद्धको सकारात्मक पहल : शंकर पोखरेल


काठमाडौं, चैत १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कुप्रयासका विरुद्धको सकारात्मक पहल भएको बताउनुभएको छ ।

राजनीतिक दलले एक आपसमा प्रतिष्पर्धा र आलोचना गर्ने बताउँदै महासचिव पोखरेलले जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले इतिहासले धेरै पटक यस्तो तथ्य प्रमाणित गरेको लेख्नु भएको छ ।

अहिलेको युग जनसचेतनाले सुसम्पन्न लोकतन्त्रको युग भएको कुरा कसैले बिर्सन नहुने उहाँले उल्लेख गर्नुभएको छ ।

‘राजनीतिक दलहरू आपसमा प्रतिस्पर्धा गर्दछन्, एक अर्काको आलोचना र विरोध पनि गर्दछन्, जनअभिमतबाट आफूलाई स्थापित गर्ने कोसिस समेत गर्दछन्, तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना पनि गर्दछन् । इतिहासले धेरै पटक यस्तो तथ्यलाई प्रमाणित गरेको छ, त्यसमाथि अहिलेको युग जनसचेतनाले सुसम्पन्न लोकतन्त्रको युग हो’, पोखरेलले लेख्नु भएको छ ।