काठमाडौं, चैत १६। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले पनि राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गर्नुभएको छ ।
समाचार संकलनमा रहेका पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको राजावादीको अराजकतापूर्ण उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र दमन नभोगेको पुस्तलाई थोरै भए पनि बुझ्ने मौका मिलेको महासचिव पोखरेलको निश्कर्ष छ ।
महासचिव पोखरेलले गणतन्त्रका पक्षमा समाजवादी मोर्चाको प्रदर्शनमा ठूलो सहभागिता रहे पनि शान्त र सन्देशमूलक भएको तर राजावादीको आन्दोलन हिंसात्मक र अराजक भएकोले बताउँदै राजतन्त्र र गणतन्त्रको फरक छुट्टिएको उल्लेख गर्नुभएको छ ।
‘एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो’, पोखरेलले लेख्नुभएको छ, ‘व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरु आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नु पर्दछ । त्यसमा राजावादीहरु पूर्णतःअसफल भए । बरु उल्टै उनीहरुका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन वेहोर्न नपरेको नयाँ पुस्तालाई त्यसबारेमा थोरै भए पनि बुझ्ने मौका मिल्यो ।’
उहाँले शुक्रबार राजावादीहरुको आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटवाट पीडित भएकाहरुलाई राज्यकातर्फबाट सम्बोधन गर्न माग पनि गर्नुभएको छ ।
जनतालाई आतंकित बनाउने अपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई कानुनी दायरामा ल्याउन महासचिव पोख्रेलले माग गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्