जनता टाइम्स

१७ चैत्र २०८१, आईतवार १७:५९

रवीन्द्र मिश्र र धवल शम्शेरसहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा : ४१ जनालाई बनाइयो प्रतिवादी


काठमाडौं, चैत १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ११ जनालाई राज्यविरूद्धको कसुरमा मुद्दा चलाइने भएको छ । सोही कसुरमा प्रहरीले म्याद थप गरेको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र र राणासहित ११ जनालाई राज्यविरूद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान गर्न लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा १० दिनेको म्याद माग गरेको सरकारी वकिल प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले बताउनु भयो । बाँकी ३० जनाविरूद्ध छुट्टै मुद्दामा अनुसन्धान गर्ने तयारी छ ।

चैत १५ गते तीनकुनेमा राजसंस्था पुनस्र्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो । अराकताको नाइके प्रसाईंको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ’संयुक्त जनआन्दोलन समिति’ ले समर्थन गरेको थियो भने राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएको थियो । राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र सुवेदी नेतृत्वको समितिको सदस्य सचिव र महामन्त्री राणा आन्दोलन परिचालन समितिमा रहनुभएको थियो।

प्रसाईंलाई भने ’जनकमान्डर’ तोकिएको थियो। प्रदर्शनमा मिश्र र राणा सहभागी रहेको र उहाँहरूले प्रदर्शनकारीलाई भड्काएको आरोप छ । प्रहरीले सो घटनामा कूल ४१ जनाविरूद्ध प्रहरीले आपराधिक उपद्रवमा अनुसन्धान गर्ने भएको छ । उनीहरूमाथि प्रहरीले संगठित अपराधमा पनि अनुसन्धान गर्ने भएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ । चैत १५ गते तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।