जनता टाइम्स

१७ चैत्र २०८१, आईतवार १८:५१

भाटभटेनी लुटपाट गर्ने ९ जना पक्राउ


काठमाडौं, १७ चैत्र । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले नौं जनालाई पक्राउ गरेको छ।उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ।
नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी समूहको संयुक्त आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट तोडफोड भएको थियो।

सोही अवसरमा केही व्यक्तिहरू लुटपाटमा संलग्न भएको आरोपमा फरार रहेका थिए।
प्रहरीका अनुसार १६ र १७ चैतमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका व्यक्तिहरूमा धनुषा, सर्लाही, नुवाकोट, सिन्धुली, सुनसरी लगायत विभिन्न जिल्लाका नागरिकहरू रहेका छन्। उनीहरूबाट मदिरा, लत्ताकपडा, कस्मेटिक्स सामग्री लगायतका सामानहरू बरामद गरिएको छ।
पक्राउ पर्नेहरुमा आशिष सिंह (धनुषा) प्रेम कुमार महत्तो (सर्लाही), रवि रञ्जन कुमार (भारत, बिहार) सुशिला कुमाल (नुवाकोट) एलिसा राई (सुनसरी) बालकुमारी कार्की (काठमाडौं) निर्मला कार्की (सिन्धुपाल्चोक) चित्र माया बस्नेत र सुस्मिता बराल (सिन्धुली) रहेका छन्।
प्रहरी उपरीक्षक अंगुर जिसीले थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिएका छन्।