जनता टाइम्स

२० चैत्र २०८१, बुधबार ०९:१४

तेक्वान्दोमा ९ डान प्राप्त गरेर तुलसी गुरुङले रचे इतिहास, बने पहिलो नेपाली ‘ग्रान्डमास्टर’


हङकङ, चैत २० । नेपाली तेक्वान्दो खेलमा कीर्तिमान बनाउँदै तुलसीकुमार गुरुङले सबैभन्दा माथिल्लो र अन्तिम उपाधि मानिने नाइन (९) डान प्राप्त गर्नुभएको छ ।

गुरुङले गत वर्षको डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलस्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिनुभएको थियो । महासंघले चैत १८ गते सोमवार सो परीक्षाको नतिजा घोषणा गरेको हो ।

नतिजाअनुसार उहाँ सफल हुनुभएको हो । उहाँलाई यस वर्ष जुनमा आयोजना हुने कार्यक्रममा प्रमाणपत्र प्रदान गरिने महासंघले जनाएको छ । ६३ वर्षीय गुरुङ हङकङमा बसोबास गर्नुहुन्छ । उहाँ हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत भइसक्नु भएको छ ।

नेपालमा मात्र होइन, हङकङको खेलकुद इतिहासमा पनि यो स्थान हासिल गर्ने गुरुङ पहिलो नेपाली बन्नुभएको छ । पूर्वब्रिटिस गोर्खा सैनिक उहाँ सन १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’ का स्वर्ण पदक विजेता हुनुहुन्छ ।

‘यो उपाधि प्राप्त गर्नु अत्यन्तै कठिन छ । गुरुङले पाउनुभएको यो उपाधिले तेक्वान्दोप्रति समर्पित सम्पूर्ण खेलाडी र देशकै शिर उँचो बनाएको छ,’ ओलम्पियन दीपक विष्टले भन्नुभयो । उहाँका अनुसार ७ डान प्राप्त गरिसकेपछि ८ डानका लागि ७ वर्ष र ९ डानका लागि अर्को ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्छ ।

१७ वर्षको उमेरदेखि तेक्वान्दोमा निरन्तर सक्रिय रहनुभएका गुरुङले ९ डान परीक्षा पास गर्न निकै चुनौतीपूर्ण रहे पनि सफल भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । सन १९८३ मा गुरुङले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वल्र्ड तेक्वान्दो च्याम्पियनसिप’ मा सहभागिता जनाउनु भएको थियो । ब्रिटिस सैनिक खेलाडीबीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएपछि उहाँलाई हङकङ ओपनमा सहभागी हुने अवसर जुरेको थियो ।

सन १९९३ मा अमेरिकामा आयोजित विश्व तेक्वान्दो च्याम्पियनसिप र १९९५ थाइल्यान्डमा आयोजित इष्ट एसियन गेम्समा गुरुङले अफिसियल रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो । गुरुङ नेपाली खेलकुदमा समेत इतिहास रच्नुभएको छ । बिसं २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आट्र्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जित्नुभएको थियो ।

त्यतिबेला कराँतेका चर्चित खेलाडी मोहन राईलाई गुरुङले क्वाटरफाइनलमा पराजित गर्नुभएको थियो । सेनाबाट अवकाश लिइसकेपछि पनि निरन्तर तेक्वान्दोमै सक्रिय गुरुङले सन २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासंघ’ गठन गर्नुभएको थियो । त्यसयता उहाँको प्रशिक्षणमा २ हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन ।

यसकारण दुर्लभ मानिन्छ ९ डान

तेक्वान्दोमा ९ डानको उपाधि जति सम्मानजनक मानिन्छ उति नै यो विश्वस्तरमै प्रतिष्ठित पनि मानिन्छ । तेक्वान्दोका खेलाडीलाई यो स्तरसम्म पुग्न आफ्नो जीवन नै समर्पित गर्नुपर्ने हुन्छ । तेक्वान्दोको विकासमा महत्वपूर्ण योगदान दिने, असाधारण सीप र नेतृत्व क्षमता प्रमाणित गर्ने खेलाडीलाई मात्र यो उपाधि प्रदान गरिन्छ ।

यो उपाधि कुक्कीवोन (विश्व तेक्वान्दो मुख्यालय) र आईटीएफ (अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ) लगायतका अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरूले प्रदान गर्छन् । विश्वमा यस्तो उपाधि प्राप्त गर्नेहरूको संख्या करिब ५० मात्र रहेको छ । सामान्यतः कम्तीमा ६० वर्षको उमेर कटेको तेक्वान्दो खेलाडीलाई मात्र यो उपाधि प्रदान गरिन्छ । ९ डान पाउने तेक्वान्दोका खेलाडीलाई ‘ग्रान्डमास्टर’ को नामले सम्बोधन गरिन्छ ।