बैंकक, चैत २० । थाइल्याण्ड भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । दुई देशका प्रधानमन्त्रीबीच थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्री निकट स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) को छैटौं सम्मेलनका अवसरमा ओली र मोदीबीच ’साइडलाइन वार्ता’ हुने निश्चित भएको हो ।
परराष्ट्र मन्त्री डा. आरजु राणाले भारतीय समकक्षी एस जयशंकरसँग ओली र मोदीबीच भेटवार्ताका लागि विशेष पहल गर्नुभएको थियो । परराष्ट्रमन्त्री राणाकै पहलमा दुई शीर्ष नेताबीच शुक्रबार अपरान्ह भेटवार्ता हुने निश्चित भएको हो ।
भेटमा दुई पक्षीय हितका विषयमा छलफल हुने छ । सो अवसरमा ’नेपाल र भारत सम्बन्धको सुदृढीकरण र आपसी हितका विषयमा छलफल हुने भनिएको छ । एजेन्डाका विषयमा सबै कुरा निश्चित भने भइनसकेको बताइएको छ ।
नेपाल सरकारले आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा ’सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्दैछ । सरकारले उक्त कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रणा पनि भारतीय प्रधानमन्त्री मोदीलाई दिइसकेको छ । सो बिषयमा समेत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई थप आग्रह गर्नुहुने छ ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि गत असोज ६ गते न्युयोर्कमा भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिग अमेरिका गएका बेला प्रधानमन्त्री ओली र मोदीबीच करिब आधा घन्टा ’साइडलाइन वार्ता’ भएको हो ।
प्रतिक्रिया दिनुहोस्