जनता टाइम्स

२१ चैत्र २०८१, बिहीबार १२:५६

कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन शाहलाई उपमेयर सुनिता डंगोलको चेतावनी


काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन शाहलाई चेतावनी दिनुभएको छ। बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुग्नुभएको थियो । सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो । नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए । लगत्तै अहिले मेयर सुनिता डंगोलसहितको बैठक बसेको छ ।बैठकमा उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन आग्रह गर्नुभयो ।

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उहाँले भन्नुभयो , ‘उहाँ हाजिर गर्न आउँदा यो झटपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाईं हुनु पनि राम्रो होइन ।’ यस्तो मनमुटाव संस्थाभित्र हुनुहुँदैन भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको उहाँले बताउनुभयो । ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उहाँले भन्नुभयो ‘पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’