जनता टाइम्स

२१ चैत्र २०८१, बिहीबार २१:१४

प्रेस चौतारी नेतृत्वलाई एमाले महासचिव पोखरेलको सुझाव: पार्टी नेतृत्वविरुद्ध विरोधीको साइबर हमलालाई परास्त गर्न अब ढीलाई गर्न हुन्न


प्रेस चौतारीको संरचना आफैंमा सवैभन्दा ठूलो मिडिया हाउस रहेको निष्कर्ष हो 

काठमाडौं, चैत २१ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रेस चौतारीको देशव्यापी संरचना नै एउटा ठूलो सञ्चार गृहको हैसियतमा रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको नवनिर्वाचित टिमलाई आज बधाइ दिंदै महासचिव पोखरेलले देशैभरीका गतिविधी संकलन गरेर प्रेस चौतारी केन्द्रले त्यस्ता गतिविधीलाई आम सञ्चार माध्यमसम्म पुर्याउने सामथ्र्य राख्ने पोखरेलले बताउनुभयो ।

‘प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले एक ठाउँका समाचार अर्को ठाउँमा सजिलै पुर्याउन सक्छन्’ पोखरेलले भन्नुभयो ‘समाचार विष्लेषण,टिप्पणी आदि लेख्न हैसियत राख्दछन् । चौतारीको यो सामथ्र्यलाई पार्टीको हितमा प्रयोग गर्नुपर्दछ । ’ चौतारीमा छापा,विद्युतीय,न्यू मिडिया र सोसल मिडिया सञ्चालनमा राम्रो दखल भएका पत्रकारहरु भएको महासचिव पोखरेलले बताउनुभयो ।

महासचिव पोखरेलले प्रेस चौतारी कार्यकर्ता उत्पादन गर्ने संगठन भन्दा पनि पार्टीका पक्षमा समाचार र बिचार उत्पादन गर्ने संगठन भएको बताउनुभयो । उहाँले पार्टी गतिविधीका समाचार,पार्टीले आम जनतामा पुर्याउनु विषयहरु र पार्टीका प्रहार विरुद्ध चौतारीले संगठित रुपमा प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

‘चौतारीका सदस्यहरुको दोहोरो भूमिका हुन्छ । चौतारीका सदस्यहरु पार्टी कार्यकर्ता पनि हुन, दोस्रो उनीहरु पत्रकार पनि हुन्’ पोखरेलले भन्नुभयो ‘तपाईंहरुले बढ्ता क्याडर हुँदा पत्रकारिता क्षेत्र छुट्न पनि सक्छ । बढी व्यावसायिक पत्रकार हुँदा पार्टीका विरुद्ध हुन पनि सक्छ  । त्यसैले यस कुरामा विशेष ध्यान दिनुहोला । ’

प्रेस चौतारीले पार्टीको नीति र नेतृत्वलाई आम जनता समक्ष स्थापित गर्न सदा क्रियाशिल हुनुपर्ने पनि महासचिव पोखरेलले बताउनुभयो ।

एमाले महासचिव पोखरेलले पार्टीका विरुद्ध भएका मिडिया आक्रमण र साइवर हमलाको प्रतिवादका लागि चौतारी अग्रपंक्तीमा आउनु पर्ने उहाँको भनाइ छ ।

‘एमालेको नेतृत्वविरुद्ध विरोधीहरुले साइबर हमलाका माध्यमबाट सम्पूर्ण शक्ति परिचालन गरेका छन् । त्यसको प्रतिवाद गरेर परास्त गर्न अब ढीलाई गर्न हुन्न,’ महासचिव पोखरेलले भन्नुभयो, ‘त्यसको प्रतिवादमा पार्टीको सानो हिस्सा मात्र लागेको छ । सूचना र प्रविधिलाई पार्टीको हितमा प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्नुपर्दछ ।’

महासचिव पोखरेलले चौतारीको नवनिर्वाचित टिमलाई बधाइ तथा शुभकामना पनि दिनुभयो भने ९ बर्ष नेतृत्व गरेर सफल कार्यकाल सम्पन्नगर्नुका साथै सही रूपमा महाधिवेशन सम्पन्न गरेको भन्दै निवर्तमान अध्यक्ष गणेश बस्नेतलाई धन्यवाद दिनुभयो। बधाइ कार्यक्रममा पार्टीको जनसंगठन समन्वय प्रमुख

भानुभक्त ढकाल, प्रेस चौतारीका इंचार्ज एव प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारीका निवर्तमान अध्यक्ष बस्नेतलगायत उपस्थित हुनुहुन्थ्यो ।

सो क्रममा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले १० औं महाधिवेशनबाट निर्वाचित नेतृत्वले सक्रियतापूर्वक काम सुरु गरेको जानकारीसहित अब नया कार्ययोजनासहित अगाडि बढने बताउनुभयो ।