काठमाडौं, चैत २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने तथ्य स्मरण गराउनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा राख्ने आदेश दिएपछि एमाले महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
अदालतको आदेशले शुक्रबार राति रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी घरमा नै गएको विषयलाई लिएर रास्वपाका नेताहरूले षडयन्त्र भएको लगायतका टिप्पणी गरेपछि महासचिव पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने र पक्राउ गर्ने परिरस्थिति लामिछाने गृहमन्त्री हुँदा पनि त्यस्तै भएको बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले गृहमन्त्री भइसक्नु भएका रवि लामिछाने र रास्वपा नेताहरू यस विषयमा जानकार नै भएको पनि उल्लेख गर्नुभएको छ ।
आफूलाई पर्दा मात्र सुधारको खोजी गर्नुको कुनै अर्थ नहुने उहाँले स्पष्ट पार्नुभएको छ ।
‘प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो ? भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन, तर पनि सुधारको खोजी यस्तै वेलामा हुने त हो नि,’ महासचिव पोखरेलले लेख्नुभएको छ ।
रास्वपा सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा उच्च अदालतले थुनामा राखेर कारबाही अघि बढाउन शुक्रबार आदेश दिएको थियो ।यसअघि जिल्ला अदालतले धरौटीमा छाड्ने गरी दिएको आदेशलाई उल्टाउँदै उच्च अदालतले सो आदेश दिएलगत्तै शुक्रबार साँझ लामिछानेलाई प्रहरीले बुढानीलकण्ठ स्थित उहाँको घरमा नै गएर पक्राउ गरेको हो । पक्राउपछि रबिलाई शनिवार भैरहवा पुर्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्