जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार ०९:३०

दैलेखमा आमा देउसी खेल्न गएको बेला आगलागीमा परेर बालकको ज्यान गयो


दैलेख, कात्तिक १३  । दैलेखको नौमूले गाउँपालिका–६, गोगनपानीका प्रेमबहादुर थापामगरको घरमा बालिएको मैनबत्तीबाट आगलागी हुँदा चार वर्षीय बालक ईश्वर थापाको ज्यान गएको छ ।

कोठामा बालिएको मैनबत्तीबाट सल्किएको आगलागीमा ज्यान गुमाउने ईश्वर नौमूले गाउँपालिका–१, तोलीका गणेश थापामगरको छोरा हुन् । कोठामा बालकलाई सुताएर बालकको आमा जिनीषा थापामगर देउसी खेल्न गएको बेला पल्लो कोठाबाट सुरु भएको आगोले पूरै घर जलेपछि बालकको ज्यान गएको प्रहरीले जनाएको छ । घरको धुरीमा आगो लप्का पुगिसकेपछि छिटो छरितो सबैले भागेर ज्यान जोगाएका तर बालकलाई त्यहाँ सुताएको कुरा आगलागीपछि घटनास्थलमा आमा आइसकेपछि मात्र थियो ।

खरले छाएको दुई तले घरको माथिल्लो तलामा सुत्ने बालबालिकाले प्लाष्टिकको बट्टामाथि राखेर बालेको मैनबत्तीले टेबलमा राखेको सल र कापी किताब सल्किएर पूरै घर जलेको इलाका प्रहरी कार्यालय नौमूलेका इञ्चार्ज प्रहरी नायब निरीक्षक कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।आगलागीबाट घरसँगै जोडिएको खोरमा रहेका ५ वटा बाख्रा मरेका, घरमा भएको अन्न, लत्ता कपडा सबै नष्ट भएको र राति नै परिवारका सदस्यहरुलाई छिमेकीको घरमा सारिएको नौमूले गाउँपालिका–६ का वडाध्यक्ष दलबहादुर गुरुङले बताउनुभयो ।