काठमाडौं, चैत २५ । बरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो ।
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका बरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भाइ पुरु रिसालले जानकारी दिनुभयो । रिसालको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । पत्रकार रिसालले मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो ।
पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला सञ्चालन गर्नुभएको थियो । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बन्नुभएको थियो ।
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गर्नुभएका बरिष्ठ पत्रकार रिसाल लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित पत्रकार हुनुहुन्छ । रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गर्नुभएको थियो ।
रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँ लामो समयदेखि सवारी साधन प्रयोग नगरी पदल यात्रा गर्दै आउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्