रुपन्देही, चैत २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवामामा राखिएको छ । उच्च अदालतको आदेशमा काठमाडौंबाट पक्राउ गरी भैरहवा ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई सोमवार भैरहवा कारागारको ४ नम्बर ब्लकमा राखिएको हो ।
कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई ४ नम्बर ब्लकमा एक्लै राखिएको छ । भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अरु कैदी तथा थुनुवाहरू रहेको भण्डारीले बताउनु भयो । यस्तै ३ नम्बर ब्लकमा महिला कैदी तथा थुनुवाका लागि हो । अहिले रविलाई राखिएको ब्लक ४ नम्बर हो । यो ब्लकमा १० जना कैदी बस्ने क्षमता रहेपनि हालसम्म उक्त ब्लकमा अन्य कैदी तथा थुनुवा नरहेको कारागार प्रशासक भण्डारीले जानकारी दिनुभयो ।
कारागार चलान हुँदै गर्दा रविले कुनै माग नगरेको र आफूलाई एक्लै राख्नसमेत नभनेको उहाँले बताउनु भयो । उच्च अदालत दाङको आदेशपछि शुक्रबार राति आफ्नै निवास बुढानिलकण्ठबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । शुक्रवार राती जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेरए चैत २३ गते यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो ।
सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताउनु भएका लामिछानेलाई सोमवार जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पठाइएको हो । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझी लामिछाने आफैले उच्च अदालतमा निवेदन दिनुभएको थियो । रबिका लागि सोही पुनरावेदन निवेदन कारागार पुग्ने बाटो बनेको हो ।
उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खारेज गरेको छ । धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने उच्च अदालतको निश्कर्ष रहेको छ ।
प्रतिक्रिया दिनुहोस्