काठमाडौं, चैत २५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई आन्दोलन नछोड्न उर्दी जारी गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
आइतबार प्रचण्डले माग पुरा नहुँदासम्म आन्दोलन फिर्ता नलिन प्रचण्डले शिक्षकहरूलाई उक्साएको बताउँदै पोखरेलले कानुन निर्माणका लागि विधि र प्रक्रिया आवश्यक पर्ने कुरा नबिर्सन आग्रह गर्नुभयो ।
पटक पटक प्रधानमन्त्री भएको प्रचण्डजीलाई यो कुरा थाहा नहुने कुरै नहुने उहाँको धारणा छ । ‘के सडकबाट विधि र प्रक्रिया बिनै कानुन निर्माण गर्न सम्भव छ र ?’, उहाँको प्रश्न छ ।
विगतमा शिक्षकसँग सम्झौता गरेर त्यसको कार्यान्वयनमा उदासीनता देखाउने प्रचण्ड नेतृत्वकै सरकार भएको उहाँले स्मरण गराउनुभयो । ‘उहाँ प्रधानमन्त्री भएको समयमा सम्झौता अनुसार विधेयकमा नै सुधार गरेर प्रस्तुत गरेको भए १ हजार ८ सय भन्दाबढी संशोधन प्रस्तावको जटिलतामा शिक्षा समिति पर्ने थिएन ।
संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयक पास नभएको कुरामा सत्ता पक्षले चिन्ता प्रकट गर्दै यतिवेला संयन्त्र गठन गरेर काम थालेको पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत स्मरण गराउनुभएको छ ।
‘सत्तापक्षले संयन्त्र बनाएर छोटो प्रक्रिया अवलम्बन गरेरै हिउँदे अधिवेशनबाट विधेयक पारित गर्न प्रयास गरेको थियो, उक्त प्रयासलाई माओवादीले समेत सहयोग गरेको भए शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै रहँदैनथ्यो’, उहाँले लेख्नु भएको छ ।
माओवादी नेतृत्वको कारणले समेत संसदीय समितिले उपसमिति गठन गर्न तीन महिना भन्दा बढी समय लगाएको उहाँले स्मरण गराउनुभएको छ । ‘उपसमिति गठन भएर छलफल समेत सुरु नभएको अवस्थामा विधेयक पास गर्ने बाटो प्रचण्डजी देखेको भए प्रस्ताव राख्नु उचित हुन्थ्यो’, उहाँले लेख्नु भएको छ ।
हिउँदे अधिवेशन अन्त्य भएको र विधेयक विचाराधीन रहेको अवस्थामा शिक्षक नेताहरूले माग गरे झैँ अध्यादेश जारी गर्न मिल्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । ‘प्रमुख दलहरूको सहयोग रहने हो भने बजेट अधिवेशन अगावै सहमति जुटाएर बजेट अधिवेशनको सुरुमै कानुन जारी गर्न सकिन्छ, त्यसका लागि सत्तापक्ष तयारै देखिन्छ’, पोखरेलले लेख्नु भएको छ ।
प्रचण्डले शिक्षकलाई उक्साएर हलो अड्काएर गोरु कुट्ने काम गरेका उहाँको धारणा छ । ‘यस्तो अवस्था रहँदा रहँदै प्रचण्डजीले समाधानको प्रस्ताव नराखी शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर भन्नुको अन्तर्य के होला ? कतै हलो अड्काएर गोरु चुट्ने त होइन ?’, उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्