सुर्खेत, चैत २६ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सबै गणतान्त्रिक शक्तिको सम्पत्ति भएको बताउनुभएको छ ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको वृहत् जागरसभालाई सम्बोधन गर्दै कँडेलले गणतान्त्रिक शक्तिको लामो संघर्षबाट यो व्यवस्था स्थापित भएको बताउनुभयो । यसमा नेकपा एमालेको महत्त्वपूर्ण भूमिका रहेको कँडेलले स्मरण गराउनुभयो ।
जसले लामो समय शासन सत्ता चलायो उनीहरूले नै अहिले देशमा शासन व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फिँजाइरहेका बताउनुभयो । ‘देशको व्यवस्थामा परिवर्तन भयो, अब एमालेको काँधमा देशको अवस्था परिवर्तन गर्नुपर्ने जिम्मेवारी रहेको छ’, कँडेलले भन्नुभयो । नेकपा एमालेले सत्तामा गएपछि राम्रो काम गर्ने र त्यही राम्रो काम गरेकै कारण सत्ताबाट हटाई स्थिति भोग्दै आएको उहाँले बताउनुभयो ।
‘नेकपा एमाले त्यसलाई परिवर्तन गर्न चाहन्छ’, उहाँले भन्नुभयो । केपी ओलीले अघि सारेको योजना अनुसार आज देश अघि बढिरहेको उहाँले बताउनुभयो । सरकामा रहँदा राम्रो काम गरे पनि त्यसको प्रचार हुन सकेन भने केही पटाहाहरूले जनतालाई अलमल्याउने उहाँले बताउनुभयो । त्यसैले एमालेले जनताको बिचमा जाने अभियान अघि बढाएको कँडेलले जानकारी दिनुभयो ।
देशको अवस्था र स्थिति विगतको भन्दा बदलिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको कँडेलले बताउनुभयो । त्यही काम गर्नको लागि नेकपा एमालेले आउने चुनावमा एकल बहुमत मागेको उहाँले स्पष्ट पार्नुभयो ।
कहीँ कसैले गल्ती र कमजोरी गरेको हुन सक्ने भए पनि त्यही लिएर कसैले औँला ठड्यायो भने त्यो गलत हुने उहाँले बताउनुभयो । लोकतन्त्र र गणतन्त्र माथि कसैले औँलो ठड्याउँदा नागरिकका अधिकार नै संकटमा पर्ने कँडेलले स्पष्ट पार्नुभयो ।
उहाँले आफू कर्णाली प्रदेशको मुख्यमन्त्री भएको एक वर्षको अवधिमा कर्णालीवासीको सिर निहुरिने गरी काम नगरेको दाबी गर्नुभयो । व्यक्तिका सबै काम गर्न नसकेको भए पनि सिर निहुरिने गरी काम नगरेको कँडेलले स्पष्ट पार्नुभयो ।
हिजो योजना व्यापारसँग जोडिने गरेकामा एक वर्षको अवधिमा आफूले त्यसमा सुधार गरेको कँडेलको भनाइ छ । पूर्वाधारको विकास गर्न नसक्दा कर्णालीलाई विपन्न भनिएको भए पनि सम्पदाका हिसाबले कर्णाली निक्कै धनी भएको उहाँले बताउनुभयो । तिनै साधन स्रोतका सही उपयोग गर्न सक्दा कर्णालीलाई सम्पन्न बनाउन सकिने उहाँले स्पष्ट पार्नुभयो ।














प्रतिक्रिया दिनुहोस्