जनता टाइम्स

२७ चैत्र २०८१, बुधबार १९:५२

तीनकुने घटनाः संलग्न थप एक जनालाई नियन्त्रणमा, पत्रकार रजकको सम्झनामा माइतीघरमा श्रद्धाञ्जली सभा


काठमाडौं, २७ चैत्र । प्रहरीले चैत १५ गते राजावादीहरुको आन्दोलनको क्रममा तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोडमा संलग्न थप एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार ललितपुर महानगरपालिका– २७ बस्ने ५३ वर्षीय कमलकुमार विष्टलाई नियन्त्रणमा लिइएको हो । उनले चैत १५ गते राजावादीहरुको आन्दोलनको क्रममा तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गर्नुका साथै नेपाललाई श्रीलंका र बंगलादेश जस्तो बनाउने अभिव्यक्ति दिएको आरोपमा विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसुरमा म्याद थपसमेत गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २० दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विष्टले कमल विष्टको नामको फेसबुक आईडीबाट नेपाल ‘श्रीलंका, बंगलादेशको मोडलमा अगाडि बढ्नुपर्छ’ भन्ने जस्ता उत्तेजक अभिव्यक्तिहरु उनको फेसबुक पेजमा लेखी विभिन्न व्यक्तिहरुलाई ट्याबसमेत गरेको पाइएको छ ।

यसैवीच पत्रकार सुरेश रजकको सम्झनामा माइतीघरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आगुवाइमा बुधबार माइतीघर मण्डलामा पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त सभा आयोजना गरिएको हो । श्रद्धाञ्जली सभामा पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनीहरूले श्रद्धाञ्जली सभामा सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए । गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो ।