काठमाडौं, चैत २८ । नेपाल बार एसोसिएसनको निर्वाचनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रबि लामिछानेले बनाएको गठबन्धन बढारिएको छ ।
भर्खरै सम्पन्न मतगणना परिणामअनुसार निर्वाचनमा कांग्रेस–एमालेका साझा उम्मेदवार बन्नुभएका अध्यक्ष विजयप्रसाद मिश्र नेतृत्वको प्यानल नै भारी मतान्तरले निर्वाचित भएको छ । मिश्र ५०५२ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीले बनाएको विपक्षी गठबन्धनका रमन श्रेष्ठ २६२१ मतमा रोकिनु भएको छ ।
दुईजनाबीचको मतान्तर २४३१ रहेको छ । त्यस्तै महासचिवमा पनि कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ मत पाएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोट मात्र ल्याएर चित्त बुझाउनु परेको छ । अन्य पदका पनि बिपक्षी गठबन्धन नराम्रोसँग पराजीत भएको छ ।
बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बू, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित हुनुभएको छ ।
यस्तै महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की विजयी हुनुभएको छ । शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो ।
यसैबीच नवनिर्वाचित अध्यक्ष मिश्र र महासचिव कोइरालाले बारमा सवैलाई समेटेर एकजुट भएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भएको छ । स्वतन्त्र न्यायपालिका वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने उहाँहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्