पाल्पा, चैत ३० । शनिवार बिहान करिब ४ बजे खसेको पहिरो र निर्माणाधीन कल्भर्टमा टिपर फसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा क्षेत्रमा उक्त घटना भएको हो। कल्भर्टमा फसेको टिपर निकालिएको छ भने पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ।
सडक एकतर्फी खुलेपछि रोकिएका सवारी साधनहरूलाई पालैपालो गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा तथा अन्य पहाडी जिल्लातर्फ आउने सवारी साधनहरू सञ्चालनमा आएका छन ।
सोही पहिरोले बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लुम्बिनी प्रदेशको ज ०२७६ नम्बरको कारसमेत पुरेको थियो। कार पूर्ण रूपमा क्षतिग्रस्त भए पनि त्यसमा सवार चालक र यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। गुडिरहेको बेला कारलाई माथिबाट खसेको पहिरोले पुरेको थियो।
निर्माणाधीन कल्भर्टमा फसेको टिपरलाई हेभी इक्विपमेन्ट (ठूला मेसिन) को सहायताले निकालिएको प्रहरीले जनाएको छ । हाल सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ मार्ग निर्माणका साथै राजमार्गमा कल्भर्ट, नाली र रक नेटिङको काम गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्