जनता टाइम्स

३० चैत्र २०८१, शनिबार १५:२५

रवि लामिछाने लोकप्रियतावादको आवरणमा अपराध गर्ने योजनाकार रहेको प्रमाणित भयो : शंकर पोखरेल


काठमाडौं, चैत ३० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावादको गलत आवरणमा भइरहेको गलत क्रियाकलाप्रति सवै नागरिक सचेत हुनुपर्ने तथ्य स्मरण गराउनु भएको छ ।

राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिवार सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । सम्बोधनको क्रममा लोकप्रियतावादको ब्याख्या गर्दै महासचिव पोखरेलले रवि लामिछाने नेतृत्वको रास्वपाको कुनै लक्ष्य र उद्देश्य नभएको बताउनु भयो । रवि लामिछाने लोकप्रियतावादको आवरणमा अपराध गर्ने योजनाको योजनाकार भएको ठोकुवासमेत एमाले महासचिव पोखरेलले गर्नुभयो । लोकप्रियतावादको आवरणमा गर्ने अपराधहरु उन्मुक्तिको विषय हुन नसक्ने प्रष्ट बटमलाइन पनि उहाँले सुनाउनु भयो ।

‘रवि लामिछाने त लोकप्रियतावादको आवरणमा अपराध गर्ने योजनाको योजनाकार पो रहेछन भन्ने प्रमाणित भयो । लोकप्रियतावादको आवरणमा गर्ने अपराधहरु उन्मुक्तिको विषय हुन सक्दैन,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले अहिले लोकप्रियतावादकै नाममा अपराधकर्म मौलाउन दिनुपर्ने मान्यता अघि सारिएको भन्दै त्यसका बिरुद्ध राज्य कडारुपमा प्रस्तुत हुनुपर्ने बताउनु भयो ।

‘अहिले लोकप्रियतावादको नाममा नीतिविहीनता, उद्देश्य र लक्ष्यविहीनता तथा अराजकतातिर समाजलाई धकेल्ने प्रयास भइरहेको छ । रास्वपाले पुरानाले गर्न सकेनन, नयाँलाई मौका दिनुपर्छ, जान्नेलाई छान्ने भन्नुपर्छ भन्थ्यो । पूर्वराजावादीहरुको आपराधिक क्रियाकलापका बारेमा पत्रकारहरुले बोल भन्दा बोल्न चाहेनन । गणतन्त्रवादीबारे दृष्टिकोण के हो भन्दा न हाँस न त कुखुराको चाल जस्तो । क्या हो ? क्या हो ?,’ महासचिव पोखरेलले भन्नुभयो, ‘यस्ताहरुले समाजको नेतृत्व गर्न सक्छ ? राजनीतिले भनेको स्पष्टताको मार्ग खोज्छ । त्यसैले यस्तो लोकप्रियतावादले समाजलाई अगाडि बढ्न रोक्छ ।’

महासचिव पोखरेलले जान्नेलाई छान्ने भन्नेहरुलाई सहकारीको पैसा कम्पनीमा लान पाइँदैन भन्ने पनि थाहा नपाएको भन्दै ब्यंग्य गर्नुभयो । ‘त्यस्ता मान्छे जान्नेलाई छान्ने अभियानको नेता बनेका रहेछन । पाँच वटा सहकारीको रकम अपचलन गरेर टेलिभिजन खोलेका रहेछन र टेलिभिजन डुबाएछन । कतिसम्म नजान्ने रहेछन भन्दा पनि आफैंले काँटेको चेक पनि मैले त हस्ताक्षरमात्रै गरेको हुँ । बाँकी कसले के गर्यो भन्ने कुरा पनि नबुझ्ने । कसैले चेक काँटेपछि कसका लागि हो भन्ने नबुझी त्यसै छाडेर हिँड्छ र ?,’ पोखरेलले भन्नुभयो ।