काठमाडौं, चैत ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँ सङ्कल्पका साथ अघि बढ्नु पर्ने बताउनुभएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नयाँ वर्षले नयाँ ऊर्जा, आशा र उत्साह दिने विश्वास व्यक्त गर्नुभएको छ ।
‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौँ, यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु, अनेकौँ कठिनाइहरूका बाबजुद हामीले हासिल गरेका उपलब्धिहरूलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौँ भन्ने विश्वास लिएको छु’, प्रधानमन्त्रीले दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ ।
देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सबैको साझा सङ्कल्प भएको उहाँले स्पष्ट पार्नुभएको छ । ‘राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ, राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न हामीमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ, सबै दिदीबहिनी दाजुभाइहरूमा नयाँ वर्षले नयाँ सङ्कल्प पैदा गर्ने छ भन्ने आशा गरेको छु’, प्रधानमन्त्रीले सन्देशमा लेख्नु भएको छ ।
जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पत्ति भएको उल्लेख गर्दै ओलीले यिनलाई परस्पर विरोधी शक्तिका रूपमा होइन, तिनीहरू बिचको एकतालाई शक्तिका रूपमा विकास गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको छ । सद्भाव, सहिष्णुता र राष्ट्र प्रेमको मिलनबिन्दुमा उभिएर मात्र देशलाई अगाडि बढाउन सकिन्छ भन्ने उहाँको स्पष्ट धारणा छ ।
मुलुकमा आज विकास केवल सपना होइन, यथार्थ बनिरहेका उल्लेख गर्दै ओलीले यस बिचमा ग्रामीण भेगहरूमा पुगिरहेको पूर्वाधार, यसले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका उल्लेख गर्नुभएको छ ।
‘युवापुस्ता हाम्रो राष्ट्रका सम्भावना हुन्, उनीहरूको जोस, जाँगर र सृजनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरूलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको छ’, ओलीले सन्देशमा लेख्नु भएको छ ।
नयाँ वर्षमा हामीले हाम्रो प्रकृतिसँग पनि मित्रता राख्ने सङ्कल्प गर्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले वातावरणको रक्षा बिना दिगो विकास सम्भव नभएको धारणा राख्नु भएको छ । हरियाली, स्वच्छता, जलवायु सन्तुलन र प्रकृतिप्रति जिम्मेवार व्यवहारले मात्र हामी नयाँ पुस्तालाई सुरक्षित मातृभूमि हस्तान्तरण गर्न सक्ने ओलीको धारणा छ ।
मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्नेमा उहाँले जोड दिनुभएको छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्र प्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नु पर्ने ओलीको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्