काठमाडौं, बैशाख २ । सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधनका लागि बिद्यालय शिक्षा बिद्येयक पारित गर्न संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षकको माग पूरा गर्न संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णयसहित वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले शिक्षकको माग पूरा गर्न सरकार तयार रहेको जनाउ पनि दिएको बैठकपछि शिक्षामन्त्री बिद्या भट्टराईले बताउनुभयो ।
यस्ता छन शिक्षकको माग सम्बोधन गर्न मन्त्रिपरिषदका ३ निर्णय
१. संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने।
२. नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ ।
३. नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने ।
प्रतिक्रिया दिनुहोस्