जनता टाइम्स

३ बैशाख २०८२, बुधबार २३:१९

संयन्त्रको बैठकपछि गृहमन्त्री लेखक : कांग्रेस र एमालेबीच कुनै समस्या छैन


काठमाडौं, बैशाख ३ । गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कुनै समस्या नभएको प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि कांग्रेस नेतासमेत रहनुभएका गृहमन्त्री लेखकले दुई दलबीच कुनै समस्या नरहेको प्रष्ट पार्नुभएको हो । ‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जस्ता बाहिर जे समाचारहरु आइरहेका छन । हामीबीच यस्तो कुनै समस्या छैन,’ गृहमन्त्री लेखकले भन्नुभयो ।

उहाँल् दुई दलबीच नियमित र राम्रो छलफल भइरहेको भन्दै सरकारको कार्यशैलीका बारेमा उठेका प्रश्नमा कुनै टिप्पणी नभएको भन्दै आर्थिक सुचकांक र सेवा प्रवाहमा सुधार भएको दुवै दलको निश्कर्ष रहेको बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा पनि कुनै समस्या नरहेको पनि जानकारी दिनुभयो । यस्तै उहाँले शिक्षकका समस्या सम्बोधनबारे सरकारले गृहकार्य गरेर संसदबाट टुंग्याइने जानकारी दिनुभयो ।

सरकारका काम र कार्यशैलीबारे सत्तासाझेदार दल कांग्रेसका शीर्ष तथा प्रभावशाली नेताहरूले नै विरोध गर्दै आएपछि बुधवार दुई दलको कार्यदल र संयन्त्रको बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री लेखक सहभागी हुनुहुन्थ्यो ।