काठमाडौं, वैशाख ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजको पुराना कुरा सम्झिने बानी निक्कै कमजोर भएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले विगतमा राजतन्त्रले गरेको शोषण र अत्याचार सम्झिन आग्रह गर्नुभयो ।
राजतन्त्रको समाज अँध्यारो समाज भएको पनि पोखरेलले बताउनुभयो । देश लोकतन्त्र आएपछि विकासको पथमा अघि बढिरहेको उहाँले बताउनुभयो । तर जति आवश्यकता हो त्यस अनुसार विकासको गति अघि बढ्न नसकेको उहाँको धारणा छ । ‘राजनीतिक स्थिरताको अभावमा जति काम हुनु पर्ने हो त्यति हुन सकेको छैन’, उहाँले भन्नुभयो ।
देश बनाउने हो भने अब राजनीतिक स्थायित्वको दिशामा जान जरुरी रहेको उहाँले बताउनुभयो । त्यसको लागि नेपालमा बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले स्पष्ट पार्नुभयो । देश विकासको लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक पार्टी र राजनीतिक स्थिरता चाहिने पोखरेलले बताउनुभयो ।
जो देशको लागि काम गर्न सक्षम छ, उसैमाथि आक्रमणको प्रयास भइरहेको उहाँले बताउनुभयो । सक्षम नेतृत्वलाई खुइल्याउने काम भएको पोखरेलले बताउनुभयो । आफ्नो सबै सम्पत्ति आफ्नो शेषपछि राष्ट्रको नाममा हस्तान्तरण गर्ने व्यक्तिलाई भ्रष्टाचारीको आरोप लगाउने काम भएको भन्दै उहाँले निन्दा गर्नुभयो ।
अब देश बनाउने पार्टी नेकपा एमाले नै भएको बताउँदै उहाँले एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । यसको लागि पार्टीलाई गोलबन्द बनाएर लैजानु पर्ने पोखरेलको धारणा छ । विगतको कामको समीक्षा गरी भविष्यको दिशा निर्देश गर्नुपर्ने पोखरेलले बताउनुभयो ।
देश विकासको लागि राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘सामाजिक अराजकताको चरित्रलाई बदल्न सकिएन भने राष्ट्र निर्माणको हाम्रो आकाङ्क्षा पुरा हुन सक्दैन’, उहाँले भन्नुभयो ।
देशलाई पछाडि धकेल्न चाहनेलाई रोकेर देश निर्माणको अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । यसमा भूतपूर्व सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका भएको पोखरेलको धारणा छ । पार्टी र देश विरुद्धको षडयन्त्रलाई परास्त गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्