जनता टाइम्स

५ बैशाख २०८२, शुक्रबार १४:०१

प्रचण्डलाई चितवनबाटै प्रधानमन्त्री ओलीको जवाफ : नलाग्नु पछि सरकार फेरिने हल्लैको


चितवन, वैशाख ५। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सवैलाई आग्रह गर्नुभएको छ ।

चितवन आइपुगेका ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

नयाँ वर्षको दिन माओवादी अध्यक्ष प्रचण्डले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने जिकिर गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले चितवनबाट नै ‘नलाग्नु पछि सरकार फेरिने हल्लैको’ भन्दै जवाफ फर्काउनु भयो ।

‘यो सरकार स्थिर छ । देशमा स्थायित्व स्थापित हुनेछ । नेपाली कांग्रेस र नेकपा एमाले पुराना, ठूला, देशमा बलिदान गरेर इतिहास बोकेका पार्टी किन संयुक्त भए ? हामी संयुक्त प्रयासबाट देशमा स्थायित्व र स्थिरता कायम गरी देशको विकास गर्न जरुरी छ भनेर एक पार्टी एक ठाउँमा आएका हुन,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाँले ढुक्क भएर देश विकासमा लाग्न अनुरोध गर्दै अहिले हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले अहिलेको सरकारले नै देश विकसित र सुशासनयुक्त बनाउने अठोट पनि दोहोर्याउनु भयो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले चितवनको पर्यटनमा इच्छाकमनाले योगदान दिनसक्ने बताउँदै केन्द्र र प्रदेश सरकारले समेत यहाँको विकासमा सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनु भएको छ ।