काठमाडौं, ९ बैशाख । तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंको बयान लिने काम सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईंको बयान लिन सुरु गरिएको हो ।
सोमबारबाट प्रसाईंको बयान लिने काम सुरु भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले बताउनुभयो। समय अभावका कारण सोमबार थोरै समय प्रसाईंको बयान लिइएको थियो । आज मंगलबार फेरि बयान सुरु भएको काफ्लेले जानकारी दिनुभएको छ । ‘प्रसाईंविरुद्धको बयान जारी छ । उहाँविरुद्ध विविधि कसुरमा बयान लिने काम भइरहेको छ’, काफ्लेले भन्नुभयो । सरकारी वकिल स्रोतकाअनुसार प्रसाईंविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ ।यसका साथै ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ । राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका थिए । प्रसाईंलाई पहिलोपटक राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिइएको थियो । अन्य कसुर भने पछि थपिँदै गएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ । १५ चैतको घटनामा पक्राउ पर्नेको ८४ संख्या पुगेको छ । राप्रपा महामन्त्री तथा सांसद धवल शमशेर राणासहित भाटभटेनीका फलफुल टिप्ने केहीलाई भनेर हिरासत मुक्त गरेर अनुसन्धान अघि बढाइएको छ । यद्यपी उनीहरुविरुद्ध भने मुद्दा चलाउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्